काठमाडौं । संघीय संसद सचिवालयको आयोजनामा निर्माणाधीन नयाँ संसद भवन परिसरमा “एक सांसद, एक वृक्षारोपण” कार्यक्रम सम्पन्न भएको छ।

सभामुख डोलप्रसाद (डीपी) अर्यालले एभोकाडोको बिरुवा रोपेर कार्यक्रमको सुरुवात गरिएको थियो ।
संसद भवन परिसरलाई प्राकृतिक रूपमा समेत सुन्दर, हराभरा र आकर्षक बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सभामुख अर्यालले बताए । उनले सांसदहरूले आफूले रोपेको बिरुवाको कार्यकालभरि निरन्तर हेरचाह र संरक्षण गर्नुपर्नेमा जोड दिए ।
“आफूले रोपेको बिरुवालाई कार्यकालभरि निरन्तर रूपमा हेरचाह र संरक्षण पनि गर्नुपर्नेछ,” सभामुख अर्यालले भने ।
कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूले करिब ५०० वटा विभिन्न प्रजातिका बिरुवा रोपे । एभोकाडो, आरु, आरुबखडा, आँप, लिची, अम्बा, नासपाती, कपुर, बेलपत्र, बुद्धचित्त, रुद्राक्ष, तेजपात, ज्यामिरकाँड, हलुवाबेद, निम, पैयुँ, समी, गुलमोहरलगायतका फलफूल, औषधिजन्य तथा सौन्दर्यमूलक प्रजातिका बिरुवा रोपिएको संसद् सचिवालयले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, राष्ट्रिय सभाका उपाध्यक्ष लीलाकुमारी भण्डारीको सहभागिता रहेको थियो। त्यस्तै प्रतिनिधिसभा सदस्य विदुषी राणा, गंगा लक्ष्मी अवाल र हर्क साम्पाङलगायतका उल्लेख्य उपस्थिति रहेको थियो ।





प्रतिक्रिया