जनताको सेवामा चनखु वडा : सामाजिक सुरक्षा भत्ता नवीकरण काठमाडौंमै


काठमाडौं । रामेछाप मन्थली नगरपालिका–१० चनखु वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि काठमाडौंमै सेवा प्रदान गरेको छ । चनखु स्थायी घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई लक्षित गर्दै जडिबुटीस्थित आभार होटलमा नवीकरण सेवा सञ्चालन गरिएको हो ।

‘जनताको सेवामा चनखु वडा´ भन्ने भावनासहित वडा अध्यक्ष गोपीलाल तामाङ र वडाका कर्मचारी स्वयं काठमाडौं आएर सेवाग्राहीलाई सेवा दिएका हुन् ।

गाउँमै पुगेर सेवा लिनुपर्ने अवस्थालाई सहज बनाउँदै वडा कार्यालयले काठमाडौंमा रहेका आफ्ना नागरिकलाई लक्षित गरी सेवा सञ्चालन गरेको वडाअध्यक्ष तामाङले जानकारी दिए ।

हालसम्म चनखुका १८ जनाको सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण सम्पन्न भएको छ । चनखुका अतिरिक्त अन्य वडाका नागरिकले समेत उक्त सेवाबाट लाभ लिएको वडाअध्यक्ष गोपीलालले बताए ।

वडाअध्यक्ष गोपीलालका अनुसार एकै दिनमा विभिन्न वडाका गरी करिब ४० जनाको नवीकरण सम्पन्न भएको छ । बाँकी रहेका सेवाग्राहीका लागि भोलि पनि नवीकरण सेवा सञ्चालन हुने वडा अध्यक्ष तामाङले जानकारी दिए ।

काठमाडौंमा रहेका सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई आवश्यक कागजातसहित उपस्थित भई सेवा लिन उनले आग्रहसमेत गरेका छन्।

स्थानीय तहको सेवा नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यअनुसार काठमाडौंमै आएर सेवा सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।