“जय महाकाली आयो गोर्खाली, विश्व जित्छु यसपालि डराउँदैन यो नेपाली…
एकताको बल मेरो, राष्ट्रिय दण्ड अखण्ड, नेपाली यसपालि इतिहास बन्दैछ।” प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिनुभन्दा एक दिनअघि सार्वजनिक गरेको ‘जय महाकाली’ र्याप गीतमा समेटिएका यी शब्द हुन्। राजनीतिमा प्रवेश गर्नुअघि र्यापर, त्यसपछि काठमाडौं महानगरपालिकाको मेयर र अहिले देशकै कार्यकारी प्रमुख—बालेनको यात्रा परम्परागत नेपाली राजनीतिको बाटोभन्दा निकै फरक छ।
‘जय महाकाली’ केवल एउटा गीत थिएन। चुनावी अभियानका दृश्यसहित सार्वजनिक गरिएको उक्त गीतले बालेनको राजनीतिक ब्रान्डलाई फेरि एकपटक युवामाझ पुर्यायो । गीत सार्वजनिक भएको २४ घण्टामै ३६ लाखभन्दा बढी भ्युज पुगेको समाचार आएका थिए।
तर प्रश्न गीत कति चले भन्ने होइन।
प्रश्न हो—गीतमा बोलेका कुरा प्रधानमन्त्रीका रूपमा बालेनले कति पूरा गर्दैछन्?
यही प्रश्न अहिले नेपाली राजनीतिमा सबैभन्दा महत्वपूर्ण बन्दै गएको छ।
र्यापमा ‘बोल्ने’ बालेनको राजनीतिक उदयको मुख्य आधार नै पुरानो राजनीतिक शैलीप्रतिको असन्तुष्टि थियो। काठमाडौंको मेयर हुँदा उनले परम्परागत भाषणभन्दा काम, सामाजिक सञ्जाल र प्रत्यक्ष हस्तक्षेपलाई प्राथमिकता दिए। सडक, फुटपाथ, अवैध संरचना, सार्वजनिक जग्गा, महानगरको प्रशासनिक अनुशासनजस्ता विषयमा उनको आक्रामक शैलीले उनलाई स्थापित राजनीतिक दलका नेताभन्दा फरक बनायो।
त्यही शैलीले उनलाई प्रधानमन्त्रीको कुर्सीसम्म पुर्यायो। तर मेयर र प्रधानमन्त्रीबीच ठूलो अन्तर छ।
मेयरले एउटा महानगरसँग जुध्नुपर्छ। प्रधानमन्त्रीले संविधान, संसद्, न्यायपालिका, कर्मचारीतन्त्र, सुरक्षा निकाय, प्रदेश, स्थानीय तह, कूटनीति, अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धसम्म सम्हाल्नुपर्छ।
त्यसैले महानगरमा प्रभावकारी देखिएको ‘म गर्छु, गराउँछु’ शैली संघीय शासनमा पुग्दा संस्थागत प्रक्रिया र राजनीतिक संवादसँग जोडिनु आवस्यक छ ।
पछिल्लो विवरणअनुसार बालेन नेतृत्वको सरकारले तीन महिनामा २१ पटक मन्त्रिपरिषद् बैठक बाएर ३८४ वटा निर्णय गरेको र १५ हजार ७९५ गुनासा सम्बोधन गरेको जनाएको छ।
उनको सरकारको प्रारम्भिक सय दिनलाई विश्लेषण गर्दा धेरै निर्णय गरिएको , सुधारका प्रयास र प्रशासनिक हस्तक्षेपसँगै विवादहरू पनि उत्तिकै देखिएको छ।
यसले एउटा कुरा स्पष्ट गर्छ—बालेन सरकार निष्क्रिय छैन। तर सक्रियता मात्रै पर्याप्त हुँदैन। राज्य सञ्चालनमा निर्णयको संख्या होइन, निर्णयको गुणस्तर, कार्यान्वयन र दीर्घकालीन परिणाम महत्वपूर्ण हुन्छ।
बालेनको अर्को चुनौती—‘म’ बाट ‘हामी’ तर्फ
बालेनको लोकप्रियता व्यक्तिगत छविमा ठूलो मात्रामा आधारित छ। मेयर हुँदा पनि उनको नाम नै संस्थाभन्दा अगाडि देखिन्थ्यो। प्रधानमन्त्री बनेपछि पनि यही प्रवृत्ति कायमै भइरहे समस्या आउन सक्छ। प्रधानमन्त्री भनेको केवल लोकप्रिय नेता होइन, संस्थाहरूलाई काम गराउन सक्ने राजनीतिक संयोजक हो।
अहिले सरकार सञ्चालनमै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीभित्र प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेबीच शक्ति सन्तुलन, नियुक्ति र सरकार सञ्चालनलाई लिएर असमझदारी भएको समाचार पनि आएका छन्। बालेनलाई एउटा गम्भीर प्रश्न यतिबेला उठिरहेको छ— पुरानो राजनीतिको विरोध गरेर सत्तामा आउनु सजिलो थियो ?
नयाँ राजनीतिक संस्कार स्थापना गर्नु कति कठिन छ?
बालेनको शैली अब कूटनीतिमा पनि परीक्षण हुँदै
प्रधानमन्त्री बनेपछि बालेनको विदेश नीति पनि चर्चाको विषय बन्यो। लामो समयसम्म विदेशी राजदूतहरूसँग प्रत्यक्ष भेटघाट नगरेका उनले पछिल्लो समय कूटनीतिक संवादलाई सक्रिय बनाएका छन्। सबैभन्दा महत्वपूर्ण रूपमा उनले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग पहिलो भेट एक्लाएक्लै गरे। त्यसपछि चिनियाँ राजदूतसँग पनि सोहिदिन भेटवार्ता भयो।
भारत र चीनजस्ता दुई ठूला छिमेकीबीच नेपालले सन्तुलित, आत्मसम्मानपूर्ण र राष्ट्रिय हितमा आधारित कूटनीति सञ्चालन गर्नु आवश्यक छ । बालेनको सबैभन्दा ठूलो शक्ति उनको लोकप्रियता हो। तर त्यही लोकप्रियता उनको कमजोरी पनि बन्न सक्छ, यदि उनले जनतालाई नियमित रूपमा आफ्नो सरकारको दिशा र निर्णयबारे जानकारी दिएनन् भने।
पछिल्ला दिनमा विपक्षी र आलोचकहरूले सरकारको कार्यशैली, संसद् र जनतासँगको संवाद तथा निर्णय प्रक्रियाबारे प्रश्न उठाइरहेका छन्। सत्तारुढ सांसदले समेत प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर आलोचना गरिरहेका छन् ।
लोकतन्त्रमा आलोचनाबाट भागेर भन्दा जवाफ दिएर नेतृत्व बलियो बनाउन सकिन्छ ।
त्यसैले अहिले बालेनले सामाजिक सञ्जालको पोस्टभन्दा अगाडि बढेर सरोकारवालाहरुसँग प्रत्येक्ष संवाद गर्नुपर्ने बेला आएको छ।
जनताले जान्न चाहेका छन्—
सरकार कहाँ पुग्यो?
के गर्दैछ?
के गर्न सकेन?
किन गर्न सकेन?
अबको प्राथमिकता के हो?
अर्थतन्त्रबारे सरकारको योजना के हो?
रोजगारी सिर्जना कसरी गर्ने?
भ्रष्टाचार नियन्त्रणको ठोस परिणाम कहाँ छ?
छिमेकी भारत र चीनसँगको सम्बन्धलाई कुन दिशामा लैजाने?
यी प्रश्नको उत्तर प्रधानमन्त्री स्वयंले दिनुपर्छ।
र्यापको ‘एकता’ अब शासनमा देखिनुपर्छ
‘जय महाकाली’मा बालेनले एकतालाई राष्ट्रिय शक्तिको रूपमा प्रस्तुत गरेका छन्। यही कुरा अब शासनमा परीक्षण हुनुपर्छ।
नेपालको विविधता नै नेपालको शक्ति हो। मधेशदेखि हिमालसम्म, युवा पुस्तादेखि पुरानो पुस्तासम्म, गाउँदेखि सहरसम्म सबैलाई जोडेर शासन सञ्चालन गर्न सक्नु बालेनको वास्तविक सफलता हुनेछ।
उनको सरकार केवल जेनजीको सरकार बनेर पुग्दैन। यो सम्पूर्ण नेपालीको सरकार बन्नुपर्छ। बालेनले पुराना दलको विकल्पका रूपमा आफूलाई स्थापित गरेका हुन्। अब उनी आफैंले पनि नयाँ राजनीतिक संस्कारको विकल्प प्रस्तुत गर्नुपर्नेछ।
बालेनको मौनता पनि एउटा राजनीतिक सन्देश हो । बालेनको राजनीतिमा सामाजिक सञ्जाल ठूलो हतियार रह्यो। एउटा पोस्टले ठूलो राजनीतिक बहस जन्माउन सक्ने अवस्था उनले निर्माण गरे।
तर प्रधानमन्त्रीको कुर्सीमा बसेपछि हरेक मौनता पनि अर्थपूर्ण हुन्छ। प्रधानमन्त्री बोल्दा सरकार बोल्छ। प्रधानमन्त्री मौन बस्दा पनि जनताले त्यसको अर्थ खोज्छन्।
बालेनको राजनीतिक यात्राले नेपाली राजनीतिमा एउटा नयाँ सम्भावना जन्माएको छ। तर सम्भावना र उपलब्धिबीच ठूलो दूरी हुन्छ।
र्यापर बालेनले गीतबाट लाखौँ मानिसलाई सुन्न बाध्य बनाए।
मेयर बालेनले कामबाट आफूलाई स्थापित गरे।
अब प्रधानमन्त्री बालेनको पालो हो—शब्द र कामबीचको दूरी मेटाउने।
किनकि अब उनलाई सुन्ने मात्र होइन, हिसाब माग्ने पुस्ता पनि त्यही हो, जसले उनलाई सिंहदरबारसम्म पुर्याएको छ ।
त्यसैले फेरि एकपटक भन्छाैँ —
प्रधानमन्त्री बालेन, बोल न!




प्रतिक्रिया