सप्तरी, १६ असोज । जितिया पावनी बड भारी
धिया पुताक ठोकी सुताबै
अपना खायब भरि थारी ।।
हाम्रो देशमा बसोबास गर्ने विभिन्न जातजाति तथा समुदायले विभिन्न चाडपर्व, रीतिरिवाज र संस्कृति मनाउँदै आएका छन्। चाडपर्व र संस्कृतिले हामीलाई विश्वमा चिनाएको छ। मधेसको संस्कृति, चाडपर्व र रीतिरिवाजको पनि छुट्टै महत्त्व र विशेषता रहेको छ। तराई–मधेसमा मनाइने चाडपर्वमध्ये जितिया पनि एक हो।
जितिया सन्तान प्राप्ति तथा सन्तानको दीर्घायु र सुस्वास्थ्यका साथै सन्तानप्रतिको ममतासँग जोडिएको कठोर व्रत हो। यो व्रत परापूर्वकालदेखि तराई–मधेसका महिलाले गर्दै आएका छन्। थारू समुदायले पनि यो व्रतलाई उत्तिकै महत्त्वका साथ मनाउँदै आएका छन्।
यस वर्ष आज षष्ठी तिथिदेखि तराई–मधेसका महिलाले यो व्रत विधिवत् सुरु गरेका छन्। आज पोखरी वा तलाउमा गएर स्नान गरी व्रतको प्रक्रिया सुरु गर्ने र शनिबार सप्तमी तिथिका दिन निराहार तथा निर्जल व्रत बस्ने चलन छ।
व्रतको विधि
यस व्रतको अघिल्लो दिन महिला बिहानै उठेर घर–आँगन लिपपोत गरी चोखो पार्छन्। पिना, तेल, घिरौलाको पात, जियलको पात, बाँसको पात र नयाँ लुगा बोकेर महिलाहरू समूहमा पोखरी, नदी वा जलाशयमा जान्छन् र पिनाले नुहाउँछन्। नयाँ लुगा लगाएपछि पितृ तथा ‘जिमुतवाहन’ देवतालाई पिना र तेल चढाउने गर्छन्।
व्रतको पहिलो दिन अष्टमी तिथिमा व्रतालु महिलाले नदी, पोखरी वा तलाउमा स्नान गरी सूर्यदेवलाई तोरीको तेल र पिनाको अर्घ दिएर व्रतको संकल्प लिन्छन्। व्रतालुले दिवङ्गत हजुरआमा, सासूआमालगायत तीन पुस्ताभित्रका नातासम्बन्ध भएका पितृ महिलालाई तर्पण दिने चलन छ। यस व्रतलाई षोडश मातृका श्राद्ध पनि भन्ने गरेको राजविराज नगरपालिका–२ का ७५ वर्षीय शम्भु मिश्रले बताए।
व्रतको अघिल्लो दिन बेलुका व्रतालु महिलाले विभिन्न प्रकारका खाना, दही, मिठाई, माछा र कोदोको रोटी अनिवार्य रूपमा खाने चलन छ। भोलिपल्ट बिहान ३ देखि ४ बजेसम्म व्रतालुले आँगनमा घिरौलाको पातमा पितृ तथा जिमुतवाहनलाई दही, चिउरा, चिनी, केरा, मिठाई, पान र सुपारी चढाउने गर्छन्।
व्रत लिएको दिन बेलुकी जति जना छोरा छन्, त्यति वटा नरिवल, फलफूललगायत पूजाका सामग्री राखेर डाली भर्ने चलन छ। डालीलाई छोराले पातले छोपिदिन्छ। व्रतको समय सकिएपछि घरमा भएका छोरा वा नातिले डाली खोल्ने गर्छन्। डालीबाट प्रसाद झिकेर पुनः पितृ र जिमुतवाहनलाई चढाई सबैलाई बाँडेपछि व्रतालु महिलाले पानी पिउने र अन्य खानेकुरा खाने चलन छ।
व्रत लिइसकेपछि व्रतालुको स्वास्थ्यमा जतिसुकै ठूलो समस्या आए पनि व्रत नतोड्ने चलन छ। स्वास्थ्यमा समस्या भएका बिरामीबाहेक छोरा भएका सबै आमाले छोराको दीर्घायु र सुस्वास्थ्यका लागि अनिवार्य रूपमा व्रत लिँदै आएका छन्।
सन्तान जन्मिनुअघि व्रत सुरु गरेकी महिला गर्भवती भएपछि पनि व्रत बस्नुपर्ने हुन्छ। यस्तो अवस्थामा २४ घण्टा होस् वा ३६ घण्टा, व्रत बस्दा कुनै जटिल समस्या आइपर्ला कि भन्ने डर व्रतालुमा रहन्छ। व्रत बसेन भने सन्तानलाई केही भइदेला कि भन्ने डर पनि उत्तिकै रहने गरेको छ। पानी नखाई व्रत बस्न समस्या भएपछि स्लाइन पानी चढाएर पनि व्रत बस्नुपर्ने बाध्यता रहेको छ।
यो व्रतमा डाली छोप्ने वा खोल्ने काम छोरा, नाति वा श्रीमानले गर्ने गर्छन्। उनीहरू नभएका बेला छोरी वा नातिनी घरमा भए पनि नातेदार वा छिमेकीको पुरुषलाई बोलाएर डाली खोल्न लगाउने चलन छ। अधिकांश परिवारमा भने छोरी वा नातिनीलाई डाली खोल्न लगाइँदैन।
यस व्रतले आपसी सद्भाव कायम गर्नुका साथै मनोरञ्जन पनि प्रदान गरेको छ। महिलाले आफूभित्र रहेको क्षमता प्रस्तुत गर्ने अवसर पनि पाउन थालेका छन्। आफन्त, साथी र छिमेकी मिलेर जितियाको सामूहिक दर खाने चलन सुरु भएको छ।
वर्ष दिनदेखि भेटघाट हुन नसकेका साथीसंगी तथा आफन्त एकआपसमा भेटघाट गरी शुभकामना आदानप्रदान गर्ने र सामूहिक रूपमा मीठो–मसिनो खाने प्रचलन बढेपछि एकअर्काबीचको सम्बन्ध सुमधुर बनाउन सहयोग पुगेको छ।
जितियासम्बन्धी गीत, कथा लगायत महिलामा रहेको प्रतिभा प्रस्तुत गर्ने अवसर सामूहिक कार्यक्रममा जुट्न थालेको छ। कम खर्चमा हुने र धार्मिक दृष्टिले पनि निकै महत्त्व बोकेको व्रतका रूपमा यसलाई लिन सकिन्छ। जियल, बाँस र घिरौलाका पात अनिवार्य रूपमा चढाइने भएकाले प्रकृति र पर्यावरणको रक्षा गर्नुपर्छ भन्ने सन्देश समेत यस व्रतले दिँदै आएको छ।
सोह्रश्राद्ध सुरु भएकै अवधिमा यो व्रत गर्नुपर्ने चलन रहेकाले यस व्रतमा छोरी र बुहारी सबैले पितृलाई सम्मान गरेको पाइन्छ। छोराले मात्र सोह्रश्राद्धमा पितृको श्राद्ध गर्ने प्रचलनमा सकारात्मक परिवर्तन गर्दै कतैकतै छोरीले पनि श्राद्ध गर्न सुरु गरेका छन्। तर यस व्रतमा त सदियौँदेखि महिलाले पनि पितृलाई पानी दिने र प्रसादी चढाउने परम्परा रहँदै आएको छ। यसले पितृप्रति महिलालाई सुरुदेखि नै जिम्मेवार बनाएको छ। महिलाले यस्ता पक्षलाई यो व्रतको सकारात्मक पक्षका रूपमा लिएका छन्।




प्रतिक्रिया