‘क्यान्टिनको गफले अध्यक्ष हट्दैन’- एमाले अध्यक्ष ओली


काठमाडौँ । नेकपा (एमाले) भित्र चुलिँदो आन्तरिक रडाको र नेतृत्व परिवर्तनको चर्चाबीच अध्यक्ष केपी शर्मा ओलीले आफूविरोधी खेमालाई खुला चुनौती दिएका छन्। इलाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टी विधि र विधानभन्दा बाहिर गएर अध्यक्ष हटाउने दिवास्वप्न नदेख्न चेतावनी दिएका हुन्।

पार्टी कार्यालयका क्यान्टिन र चिया पसलमा बसेर गरिने गफले नेतृत्व परिवर्तन नहुने भन्दै ओली आक्रामक शैलीमा प्रस्तुत भए, “पार्टी अध्यक्ष हटाउने ! चिया मगाएको छ, चिया खाएको छ। अध्यक्ष हटाउने ? कहिले हो हटाउने ! हटाइदेऊ न। ढिलो भयो, छिटो हटाऊ त।”

आफूविरुद्ध हस्ताक्षर अभियान चलाइएको हल्लाप्रति कडा असन्तुष्टि पोख्दै उनले त्यस्ता गतिविधिलाई ‘अनुशासनहीनता र अराजकता’को उपमा दिए। “अध्यक्षलाई हटाउने ! पार्टी सदस्य छ कि छैन ?” भन्दै ओलीले कटाक्ष गरे, “कोही हस्ताक्षर गर्दै हिँड्या छन् अध्यक्ष हटाउने भनेर। यसका पछाडि केही दम छैन, केही छैन।”

एमालेमाथि बाह्य शक्तिहरूबाट तीव्र प्रहार भइरहेको दाबी गर्दै ओलीले यतिबेला पार्टीभित्र विवाद र किचलो गर्नुभन्दा एकजुट भएर चौतर्फी हमलाको सामना गर्नुपर्नेमा जोड दिए। पार्टीको नेतृत्व फेर्नका लागि निश्चित विधि, प्रक्रिया र समय हुने उल्लेख गर्दै उनले ख्यालठट्टाका भरमा नेतृत्व बदल्ने खेल बन्द गर्न कडा सन्देश दिएका छन्।

पार्टीभित्रैबाट ओलीलाई हटाउने मागसहित गोप्य हस्ताक्षर अभियान चलिरहेको चर्चा सघन बनिरहेका बेला एमाले अध्यक्षको यस्तो कडा टिप्पणी आएको हो।

Skip This