काठमाडौं । ग्यास बिक्रेता महासंघले लामो समयदेखि खाना पकाउने ग्यासको चरम अभावप्रति सरकार गम्भीर नभएको आरोप लगाएको छ ।
महासंघले आइतबार विज्ञप्ति जारी गर्दै सरकार समस्या समाधानभन्दा प्रचारबाजीमा केन्द्रीय भएको आरोप लगाएको हो।
‘देशभर खाना पकाउने ग्यासको चरम अभाव भएको सर्वविधितै छ। यति लामो समयसम्म ग्यास किन अभाव भयो भन्ने कुरामा सरकारको पटक ध्यान पुगेको देखिन्न। विभिन्न सञ्चारमाध्यममा हाम्रो महासंघ र उपभोक्तावादी संघसंस्थाबाट ग्यासको अभाव हुनुका कारणबारे प्रष्ट सत्य सार्वजनिक गर्दा पनि सरकार, नेपाल आयल निगम लि, वाणिज्य मन्त्रालय र सरकारका विभिन्न निकायहरू समस्याको समाधानभन्दा अनावश्यक प्रचारबाजीमा लागेको कुरा विगत केही दिनयता भएको गतिविधिले पुष्टि गर्दछ,’ महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
विगत ४ महिनामा करिब ६० हजार मेट्रिक टन ग्यास कम आयात गरिएको भन्दै महासंघले आयातमा आएको यो ठूलो गिरावटले नै बजारमा अभाव सिर्जना गरेको जनाएको छ । विज्ञप्तिमा उल्लेख भए अनुसार हाल बजारमा आवश्यकताभन्दा बढी अर्थात् करिब ८० लाख सिलिन्डर छरिएका छन् ।
महासंघले ग्यास उद्योग र विभिन्न नामका बिक्री केन्द्रहरूबाट बिक्री तत्काल बन्द गर्नुपर्ने, डिलरमार्फत मात्रै बिक्री वितरण सहज गर्नुपर्ने, अनुगमनका नाममा बिक्रेतालाई दुःख दिने कार्य बन्द गर्नुपर्ने लगायतका माग राखेको छ ।





प्रतिक्रिया