वाग्मतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान



हेटौँडा । वाग्मती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिएको राजीनामा स्वीकृत गर्दै उनले मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६९ (१) (क) बमोजिम मुख्यमन्त्री बानियाँले भदौ १ गतेदेखि लागु हुने गरी दिएको राजीनामा स्वीकृत गरिएको जनाएको छ ।

राजीनामा स्वीकृत भएसँगै नेपालको संविधानको धारा १६८ (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न भनिएको छ ।

यससँगै वाग्मतीमा नयाँ सरकार गठन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । बागमती प्रदेश सभा १०४ सदस्यीय रहेको छ  । नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २६, नेकपा एमालेको २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।