दुर्गा प्रसाईंका माग सम्बोधन गर्न वार्ता टोली गठन, वार्ता पनि सुरु


काठमाडौं, भदौ २ । व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंका माग सम्बोधन गर्न सरकारले सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा ४ सदस्यीय औपचारिक वार्ता टोली गठन गरी पत्राचार गरेको छ ।

पत्राचारअनुसार सोमबार ​ललितपुर जिल्ला प्रशासन कार्यालयमा सरकारी वार्ता टोली र महाअभियानका प्रतिनिधिहरूबीच गहन छलफल हुनुका साथै सरकारको पत्र महाअभियानले ग्रहण गरी यथाशीघ्र आफ्नै वार्ता टोली बनाएर थप संवाद गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

वार्ता टोलीको संयोजकमा प्रधानमन्त्री कार्यालयका सहसचिव लिलाधर सुवेदी, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य छन् । यसअघिको सुशीला कार्की नेतृत्वको सरकार र प्रसाईं समूहबीच १२ बुँदे सम्झौता भए पनि कार्यान्वयन नभएको भन्दै प्रसाईंले विरोध जनाउँदै आएका छन् ।