काठमाडौं, भदौ २ । सर्वोच्च अदालतको आदेशमा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट छुटेका वरिष्ठ पत्रकार किशोर श्रेष्ठले सत्य नमरेको र कलम नहारेको प्रतिक्रिया दिएका छन् ।
थुनामुक्त भएलगत्तै सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिँदै श्रेष्ठले लेखेका छन्, “पन्छीको ठाउँ पिँजडा होइन, खुल्ला आकाश नै प्रिय लाग्छ उसलाई। ढिलो होला तर भ्रमको पर्दा च्यातिन्छ,” श्रेष्ठले लेखेका छन्, “सत्य मरेको छैन, कलम हारेको छैन। सबैलाई बधाई, सबैलाई शुभकामना।”
एक युवतीको तस्बिरसहित जनआस्थामा प्रकाशित सामग्रीलाई लिएर श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयता उल्लङ्घनको जाहेरी परेको थियो। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
सर्वोच्च अदालतले समाचार प्रकाशित गरेकै आधारमा सम्पादक वा प्रकाशकलाई थुनामा राख्नुपर्ने अवस्था नदेखिएको स्पष्ट पार्दै आइतबार हिरासतबाट मुक्त गर्न आदेश दिएको थियो ।
सर्वोच्चले सामाजिक सञ्जालमा व्यक्तिले आफैँ सार्वजनिक गरेको सामग्रीलाई सञ्चारमाध्यमले पुनः प्रकाशन गरेकै आधारमा मात्रै फौजदारी कसुरको रूप दिन र सम्पादकलाई थुनामा राख्न उचित नहुने व्याख्या गरेपनि श्रेष्ठलाई हाजिर जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन निर्देशन दिँदै हिरासतबाट मुक्त गरिएको थियो।




प्रतिक्रिया