मलेसियामा १४ नेपाली युवा अलपत्र, उद्धारका लागि ऋषि धमलासँग मागे गुहार


काठमाडौँ । रोजगारीका लागि मलेसिया पुगेका नेपालका विभिन्न जिल्लाका १४ जना नेपाली युवा अलपत्र परेका छन् । १५ दिनदेखि अलपत्र परेका उनीहरूले उद्धारका लागि वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलासँग गुहार मागेका छन्।

मलेसियामा अलपत्र परेका युवाहरूले आफ्नो अवस्थाबारे जानकारी दिँदै धमलालाई भिडियो पठाएर तत्काल उद्धारका लागि पहल गरिदिन अनुरोध गरेका हुन्।

उनीहरूले भिडियोमार्फत आफूहरू मलेसियाका विभिन्न १५ कम्पनीमा कामका लागि गएको भए पनि कम्पनीले कामबाट निकालेर करिब ६० किलोमिटर टाढा लगेर छाडेको बताएका छन्।

उनीहरू काठमाडौँको सामाखुसीस्थित रोयल इन्टरनेसनल ओभर्सिज प्रालि (Royal International Overseas Pvt. Ltd.) मार्फत रोजगारीका लागि मलेसिया गएको बताएका छन्। मलेसिया पुगेपछि समस्या बारे मेनपावर कम्पनीलाई जानकारी गराए पनि कुनै चासो नदिएको उनीहरूको आरोप छ।

कामबाट निकालिएपछि आयस्रोतविहीन बनेका युवाहरू अहिले बस्ने ठाउँ र खानासमेत समस्या भएको अवस्थामा रहेको भिडियोमा बताएका छन्। उनीहरूले आफूहरूको अवस्था गम्भीर बन्दै गएको भन्दै नेपाल फर्किने वातावरण मिलाइदिन आग्रह गरेका छन्।

धमलाले मलेसियामा अलपत्र नेपाली युवाहरूको उद्धारका लागि सरकार तथा सम्बन्धित निकायसँग तत्काल पहल गर्ने बताएका छन्। उनले युवाहरूलाई जसरी भए पनि सुरक्षित रूपमा नेपाल फर्काउने वातावरण बनाउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्।