वासिङ्टन डीसी । सन् २०२० मा अमेरिकी राष्ट्रपति चुनावमा २४,००० भन्दा बढी गैर नागरिकहरूले अवैध रूपमा मतदान गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । उनका अनुसार अमेरिकी जनगणना ब्युरोले २०२० को मतदाताका डेटालाई नागरिकता जानकारीसँग मिलाएर हेर्न थालेको छ ।
१२ करोड ८० लाख मतदाताहरूको प्रारम्भिक अनुसन्धानमा २४ हजारभन्दा बढी गैर नागरिकहरूले अवैध रूपमा मतदान गरेको ब्युरोले प्रमाणित गरेको ट्रम्पले बताए ।
ब्युरोले अब थप ३ करोड २० लाख मतदाताहरूको विश्लेषण गरिरहेको र यसपछि यो तथ्याङ्क झनै बढ्ने बताइएको छ । यस क्रममा ट्रम्पले आफूले नै २०२० को चुनाव जितेको दाबी पनि दोहोर्याए । अझ अगाडि उनले सेभ अमेरिका ऐन पारित गर्न पनि भनेका छन् । ‘हामीले सेभ अमेरिका ऐन पास गर्नै पर्थ्यो ।
यस मामिलामा ध्यान दिनु भएकोमा धन्यवाद,’ ट्रम्पले भने । जनवरी २९ मा कांग्रेसमा पेस गरिएको प्रस्तावित सेफगार्ड अमेरिकन भोटर एलिजिबिलिटी (सेभ) अमेरिका ऐनको अनुमोदनपछि उनको यो टिप्पणी आएको हो ।
यो ऐनको उद्देश्य अमेरिकामा सङ्घीय मतदानसम्बन्धी मापदण्डहरू परिमार्जन गर्नु हो । यसले मतदाताको नाम दर्ता गर्दा मतपत्रमा वैध फोटो पहिचानको साथसाथै अमेरिकी नागरिकताको भौतिक प्रमाण (जस्तै– राहदानी वा जन्म प्रमाणपत्र) अनिवार्य गरेको छ ।
साथै, यसले बिरामी, शारीरिक अशक्तता, सक्रिय सैन्य सेवा, वा यात्रासहित विशिष्ट अपवादहरूमा मात्रै मेल मतदानलाई कडाइका साथ सीमित गरेको छ । अनि सङ्घीय डाटाबेस प्रयोग गरेर सङ्घीय मतदाता दर्ताहरूबाट गैर–नागरिकहरूलाई हटाउन अमेरिकी राज्यहरूलाई निर्देशन दिएको छ । एजेन्सी




प्रतिक्रिया