कांग्रेस १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा देउवा समुह


काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूह १५औं महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने भएको छ ।

पार्टीले आधिकारिकता सम्बन्धी विवाद विचाराधीन रहेको अवस्थामै महाधिवेशनको कार्यतालिका संशोधन गरेर सार्वजनिक गरेपछि इतर समूह सर्वोच्च जाने भएको हो ।

इतर समूहको प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले महाधिवेशन प्रक्रिया तत्कालका लागि रोक्न माग गर्दै आफूहरू सर्वोच्च जाने तयारीमा रहेको जानकारी दिए । ‘अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै एक पक्षले त्यो विषयलाई एकतर्फी रूपमा अगाडि बढाउन स्वाभाविक रूपमा मिल्दैन,’ उनले भने,‘तर, प्रक्रिया अगाडि बढाइएको छ । हाम्रो पक्षबाट अदालतमा त्यस विषयमा निवेदन पर्छ ।’

यसअघि इतर समूहको राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले २६ साउनमा महाधिवेशनसम्बन्धी गतिविधि अघि नबढाउन निर्वाचन आयोग र पार्टीलाई पत्र पठाएका थिए ।

नेपाली कांग्रेसले मंगलबार १५ औँ महाधिवेशनको लागि कार्यतालिका सार्वजनिक गरेको थियो ।