काठमाडौँ । बुधबार सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको कार्यालयमा बैठक बसिरहेको थियो। पार्टी सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले लगायत शीर्ष नेता, मन्त्री र सांसदहरूको उपस्थिति थियो। बैठकमा सर्वसाधारणको दैनिकीसँग जोडिएका एलपीजी ग्यासलगायतका अत्यावश्यक वस्तुको अभाव, बजार अनुगमन र महँगीका विषयमा सांसदहरूले मन्त्रीहरूलाई प्रश्न सोधिरहेका थिए।
तर, यी सम्पूर्ण छलफलको बीचमा बैठक हलमा एउटा स्पष्ट रिक्तता देखिन्थ्यो- प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन्द्र शाहको अनुपस्थिति। बैठक चलिरहँदा केही सांसदहरूले सिधै प्रश्न गरे, “दलको नेता कहाँ हुनुहुन्छ ?”
प्रधानमन्त्री शाहको यो अनुपस्थितिलाई एउटा नियमित बैठकको उपेक्षाका रूपमा मात्र हेर्न मिल्दैन। यसले सत्तारुढ रास्वपाभित्रको आन्तरिक शक्ति सन्तुलन, समन्वय र संसदीय अभ्यासका आयामहरूमाथि गम्भीर विश्लेषणात्मक प्रश्न खडा गरिदिएको छ।
संसदीय अभ्यासलाई नियाल्दा दलको बैठक सामान्यतया दलको नेताकै अध्यक्षतामा बस्ने परम्परा रहँदै आएको छ। तर, संवैधानिक र कानुनी दृष्टिकोणबाट हेर्दा यसका दायराहरू केही खुकुला छन् ।
नेपालको संविधानको धारा ७६ ले प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेताका रूपमा स्वीकार गर्छ। तर, दलको प्रत्येक आन्तरिक बैठकमा नेताको अनिवार्य उपस्थिति हुनैपर्ने बाध्यकारी व्यवस्था संविधानमा छैन।
प्रतिनिधिसभा नियमावलीले दलहरूलाई आन्तरिक कार्यविधि र विधानअनुसार चल्ने स्वायत्तता दिएको छ। दलको नेता अनुपस्थित हुँदा उपनेता वा तोकिएका अन्य पदाधिकारीले बैठक सञ्चालन गर्नु संसदीय अभ्यासमा स्वाभाविक मानिन्छ। तसर्थ, प्राविधिक वा कानुनी रूपमा दलको नेताविना बैठक बस्नु नियमविपरीत त होइन, तर राजनीतिक सन्देशका हिसाबले भने यसको अर्थ निकै गहिरो हुन्छ।
सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री बालेनको कार्यव्यस्तता स्वाभाविक हुन सक्छ। तर, आफ्नै दलको संसदीय बैठक—जहाँ जनताका जीवन्त मुद्दा र सरकारका कामकारबाहीबारे मन्त्रीहरूसँग छलफल भइरहेको थियो— त्यहाँ दलको नेता नै अनुपस्थित हुनुले सरकार र संसदीय दलबीचको जीवन्त संवादको कमीलाई संकेत गर्छ।
सभापति रवि लामिछाने र अर्थमन्त्री स्वर्णिम वाग्लेजस्ता प्रभावशाली नेताहरूको उपस्थितिमा बैठक अघि बढ्नुले दलभित्र वैकल्पिक सञ्चालन संयन्त्र सक्रिय रहेको त देखाउँछ, तर कार्यकारी प्रमुखका रूपमा रहेका प्रधानमन्त्री बालेनको अनुपस्थितिले सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु गराएको छ।
संसदीय दलभित्रै सांसदहरूले नेताको खोजी गर्नुले रास्वपाभित्र सांसद र नेतृत्वबीचको सञ्चार चुस्त नरहेको स्पष्ट पार्छ। जनताका मुद्दामा मन्त्रीहरूलाई घेर्ने सांसदहरूले आफ्नै दलको नेता र प्रधानमन्त्रीको उपस्थिति नपाउँदा संसदीय दलको प्रभावकारितामाथि प्रश्न उठ्नु स्वाभाविक हो।
संसदीय राजनीतिमा साना लाग्ने घटनाहरूले ठूला राजनीतिक मोडहरूको संकेत गरिरहेका हुन्छन्। कानुनी रूपमा उपनेता या अन्य पदाधिकारीले बैठक चलाउनु गलत नभए पनि प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिले रास्वपाभित्र आन्तरिक समन्वय र शक्ति सन्तुलनको पुनरावलोकन आवश्यक रहेको देखाउँछ। सत्ता र दलबीचको दूरी फराकिलो हुन नदिन नेतृत्वले यस्ता सांकेतिक प्रश्नहरूलाई समयमै सम्बोधन गर्नुपर्ने देखिन्छ। बैठकमा अनुपस्थित भएर वा ओझेल परेर प्रधानमन्त्री बालेनले अप्रत्यक्ष रूपमा पार्टीको परम्परागत ढाँचाभन्दा आफ्नो ‘इन्डिभिजुअल ब्रान्ड’ ठूलो रहेको सन्देश दिन खोजेको जस्तो देखिन्छ, तर उनको यस्तो रवैयाले रास्वपा दलभित्र प्रणाली बसाल्न कठिन बनाउँछ।




प्रतिक्रिया