तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारामा प्रदर्शन, सडक ठप्प


बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१, दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको छ । उक्त घटनाको विरोधमा स्थानीयवासीले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् । बुधबार बिहानदेखि सुरु गरिएको प्रदर्शन आज पनि जारी छ ।

पीडित परिवार तथा स्थानीयले पथलैया–वीरगन्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गर्दै सडक ठप्प पारेका हुन् । प्रदर्शनकारीले घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

गएको साउन ३१ गतेदेखि बेपत्ता भएकी तीन वर्षीया गरिमाको हत्या सोही दिन भएको खुलेको प्रहरीले जनाएको छ । घटनामा संलग्न आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।