रवि र गगनसहित नेपाल-भारतका प्रभावशाली व्यक्तिहरु एउटै मञ्चमा देखिदै


काठमाडौँ । रास्वपा साभापति रवि लामिछाने,कांग्रेस सभापति गगन थापा र अर्थमन्त्री स्वर्णिम वाग्ले सहित नेपाल र भारतका प्रमुख राजनीतिक दलका नेताहरू एउटै मञ्चमा देखिने भएका छन्। भारतीय टेलिभिजन च्यानल एनडीटीभी वर्ल्डले आगामी २७ अगस्ट अर्थात् ११ भदौमा भारत र नेपालका विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वलाई एउटै मञ्चमा राखेर विश्वव्यापी संवाद शृङ्खला सुरु गर्दैछ ।

उक्त कार्यक्रम काठमाडौंको याक एन्ड यति होटलमा आयोजना हुने भएको हो । सो कार्यक्रममा नेपाल र भारतका विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरुकाे सहभागिता रहने एन्डीटीभीले जनाएको छ ।

कन्क्लेभमा भारत र नेपालका सत्तारुढ र प्रतिपक्षी दलका नेताहरूका साथै नेपाल सरकारका मन्त्रीहरू पनि सहभागी हुने भएका हुन् । कन्क्लेभमा रवि लामिछाने,गगन थापा,स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी हुनेछन्।

भारततर्फबाट भाजपाका राष्ट्रिय उपाध्यक्ष राममाधव, भाजपा विदेश विभागका प्रमुख विजय चौथाइवाले,भाजपा राष्ट्रिय कार्यकारिणी सदस्य विनय सहस्रबुद्धे सहभागी हुनेछन्। त्यसैगरी भारतीय राष्ट्रिय कांग्रेसका नेता शशी थरुर र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि कन्क्लेभमा सहभागी हुनेछन्।

सो कार्यक्रममा नेपालको बदलिँदो राजनीति, अर्थतन्त्र र समाजका साथै भारतसँगको सम्बन्ध तथा क्षेत्रीय राजनीतिमा नेपालको भूमिकाबारे छलफल हुने जनाइएको छ ।

छलफलमा नेपालको आर्थिक विकासका योजना, व्यवसाय सञ्चालनका अवसर, लोकतान्त्रिक व्यवस्थामा आएका परिवर्तन तथा युवाका अपेक्षाबारे पनि चर्चा हुनेछ ।

त्यसैगरी प्रविधि, पर्यटन, पूर्वाधार, वातावरण, व्यापार र क्षेत्रीय सहकार्यजस्ता विषय पनि छलफलमा समेटिनेछन् ।