अख्तियार त्रास देखाउने होइन, परिणाम दिने संस्था बन्नुपर्छ : मन्त्री गौतम


काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रास सिर्जना गरेर नभई आफ्ना काम कारबाहीबाट आफूलाई बलियो प्रमाणित गर्नुपर्ने बताएकी छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री गौतमले आयोगको अनुसन्धान स्वच्छ र निष्पक्ष हुनुपर्नेमा जोड दिइन् ।

मन्त्री गौतमले अख्तियारको त्रासका कारण सरकारी निर्णय प्रक्रियामा कर्मचारीहरू डराउने अवस्था रहेको र यसले विकास निर्माणमा अवरोध पुर्‍याएको बताइन् । ‘अख्तियार त्रास सिर्जना गरेर हामी बलियो छौँ भन्ने खालको हुनु हुँदैन,’ उनले भनिन्, ‘इमानदार कर्मचारी डराउने वातावरण हुनु भएन, भ्रष्टाचार गर्नेहरू मात्रै डराउनुपर्छ ।’

निर्णय प्रक्रियामा रहेको डरका कारण फाइलहरू घुमिरहने र काममा ढिलासुस्ती हुने गरेको भन्दै मन्त्री गौतमले यसको प्रत्यक्ष असर जनतामा पर्ने बताइन् ।

मन्त्री गौतमले गलत निर्णय र भ्रष्टाचार बिचको भिन्नता छुट्याउन आवश्यक रहेको उल्लेख गर्दै संवैधानिक निकायहरू कतै कसैलाई फसाउने वा बजाउने खेलमा प्रयोग हुन नहुने बताइन् ।