राष्ट्रसंघ सुरक्षा परिषद् सुधार्न भारतको माग


नयाँ दिल्ली । भारतले संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) को वर्तमान संरचनाले बदलिँदो विश्वको राजनीतिक तथा भूराजनीतिक वास्तविकता प्रतिबिम्बित गर्न नसकेको भन्दै तत्काल सुधार गरी विकासोन्मुख मुलुक र ग्लोबल साउथको प्रतिनिधित्व बढाउन माग गरेको छ ।

सुरक्षा परिषद्को कार्यविधिसम्बन्धी खुला बहसलाई बुधबार सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घका लागि भारतको स्थायी नियोगकी कार्यवाहक राजदूत योजना पटेलले सन् १९४५ यता विश्वमा ठूलो परिवर्तन आएको र संयुक्त राष्ट्रसङ्घको सदस्य सङ्ख्या चार गुणाले बढिसकेको बताइन् । असी वर्षअघि बनेको संरचनाले वर्तमान विश्वको शक्ति सन्तुलन र आवश्यकतालाई निरन्तर निर्धारण गर्न नसक्ने उनको भनाइ थियो ।

पटेलले सुरक्षा परिषद्को स्थायी र गैरस्थायी दुवै सदस्यतामा विकासोन्मुख देश तथा ग्लोबल साउथको प्रतिनिधित्व बढाउनुपर्ने भारतको धारणा दोहोर्‍याइन् । स्पष्ट लक्ष्य, माइलस्टोन र समयसीमासहित पाठमा आधारित वार्ताबाट सुधार अघि बढाउनुपर्ने उनले बताइन् ।

उनले सुरक्षा परिषद्को कार्यविधि सुधारलाई सदस्यता विस्तार, क्षेत्रीय प्रतिनिधित्व र भिटो अधिकारजस्ता व्यापक सुधारबाट अलग राख्न नहुने बताइन् । परिषद्का प्रक्रियागत नियमहरू अस्थायी प्रकृतिका भएकाले आवश्यकताअनुसार संशोधन गर्न सकिने र तिनलाई सदस्यता विस्तारलगायत सुधारका लागि अवरोधका रूपमा प्रस्तुत गर्न नहुने उनको भनाइ थियो ।

भारतले परिषदमा पारदर्शिता बढाउन सबै सदस्यलाई कागजात तथा सूचनामा समान पहुँच दिनुपर्ने माग गरेको छ । ऐतिहासिक दस्तावेजमा पहुँच केही सदस्यको मात्र अधिकारका रूपमा सीमित गर्न नहुने पटेलले बताइन् ।

शान्तिरक्षा अभियानमा सेना तथा प्रहरी पठाउने देशहरूलाई पनि जनादेश र स्रोतसाधनसँग सम्बन्धित प्रमुख निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने भारतको धारणा छ । ती देशहरू सुरक्षा परिषद्का सदस्य नभए पनि शान्तिरक्षा अभियानका प्रत्यक्ष सरोकारवाला भएकाले निर्णय प्रक्रियामा उनीहरूको भूमिका आवश्यक रहेको पटेलले बताइन् ।

भारतले सुरक्षा परिषद्का सहायक निकायका अध्यक्ष चयनमा हुने ढिलाइ अन्त्य गर्न निश्चित समयसीमा तोक्न पनि आग्रह गरेको छ । यसका लागि अध्यक्ष चयन प्रक्रियालाई समयबद्ध बनाउन नोट ५०७ संशोधन गर्नुपर्ने उनले बताइन्।

आतङ्कवादको विषयमा परिषद्को सदस्यतालाई राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बनाउन नहुने पटेलले स्पष्ट पारिन् । वस्तुगत मापदण्ड र प्रमाणबिना आतङ्कवादीलाई प्रतिबन्धको सूचीबाट हटाउने वा राजनीतिक आधारमा कुनै संस्थालाई आतङ्कवादी सङ्गठनका रूपमा सूचीबद्ध गर्ने प्रयासमा परिषद्को भूमिका प्रयोग गर्न नहुने उनको भनाइ थियो ।

पटेलले सुरक्षा परिषद् र संयुक्त राष्ट्र महासभाबिच समन्वय बलियो बनाउनुपर्नेमा पनि जोड दिइन् । महासभालाई संयुक्त राष्ट्रसङ्घको सबैभन्दा विश्वव्यापी र लोकतान्त्रिक अङ्गका रूपमा उल्लेख गर्दै परिषद्को कार्यविधि समीक्षा गरी महासभालगायत अन्य प्रमुख अङ्गसँग सहकार्य बढाउनुपर्ने उनले बताइन् । एजेन्सी