काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा प्रहरीले खानतलासी गरेको छ । बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले भक्तपुरको निकोसेरास्थित प्रसाईंको घरमा पुगेर खानतलासी गरेको हो ।
प्रहरीले खानतलासीका क्रममा प्रसाईंले प्रयोग गर्दै आएकोसहित ६ वटा मोबाइल फोन, एक थान ल्यापटप र सीसीटीभीको डीभीआर बक्स नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रहरीले प्रसाईंको घरमा खानतलासी गर्नुको ठोस कारण भने औपचारिक रूपमा सार्वजनिक गरेको छैन । यद्यपि, पछिल्लो समय लघुवित्त प्रभावितहरूको आन्दोलनसँग प्रसाईंको संलग्नता र उनीहरूलाई आन्दोलनमा परिचालन गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
लघुवित्त पीडितहरूले केही दिनयता पुलचोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडि धर्ना दिँदै आएका छन्। उनीहरूको आन्दोलन थप भड्किन सक्ने आशंकामा प्रहरीले प्रसाईंमाथि साउन ३१ गतेदेखि निगरानी बढाएको बताइएको छ । त्यसयता उनको निवास आसपास प्रहरीको नियमित निगरानीसमेत हुँदै आएको जनाइएको छ ।




प्रतिक्रिया