हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने


चितवन । भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन राष्ट्रिय निकुञ्ज भित्रको सडक कालोपत्रका लागि प्रक्रिया अघि बढेको छ । हुलाकी राजमार्ग निर्देशनालयका अनुसार पहिलो चरणमा सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार ९९६ रूख काट्नुपर्ने जनाएको छ ।

निकुञ्जले ध्रुवबाट बनकट्टासम्म सडकको बीचबाट १५ मिटर दाँयाबाँया पर्ने रूखको तथ्याङ्क सङ्कलन गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनका अनुसार तथ्याङ्क सङ्कलन गरेर नापजाँच गरी हुलाकी राजमार्ग निर्देशनालय र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) का लागि पठाइएको छ ।

“यो छोटो बाटो करिब छ किलोमिटरको छ । कसराबाट बनकट्टासम्म अहिले सञ्चालनमा रहेको बाटो नौ किमी लम्बाइको छ । छोटो बाटो बनाउँदा माडीको बनकट्टाबाट देउरालीसम्म अहिले प्रयोग भएको बाटो प्रयोगमा ल्याइन्छ भने त्यहाँबाट ध्रुवसम्म जाने पुरानो बाटोलाई विस्तार गरिँदै छ,” उनले भने।

ध्रुव क्षेत्रमा पर्ने राप्ती नदीमाथि पुल बनाउनुपर्ने बताउँदै निर्देशनालयका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर विष्णुबाबु पाण्डेले रूखको तथ्याङ्क लिएर निकुञ्जले प्रतिवेदन पठाइसकेकाले अब इआइएका लागि सार्वजनिक सुनुवाइ गरिने उल्लेख गरे। त्यसपछि इआइएको नतिजा वन मन्त्रालयले स्वीकृत गरेपछि कालोपत्रका लागि बोलपत्र आह्वान गरिने उनले जानकारी दिए।

पाण्डेका अनुसार उक्त खण्ड राष्ट्रिय गौरवको आयोजनाभित्र पर्ने भएकाले सडक विस्तार गरी कालोपत्र गर्न आर्थिक समस्या भने हुँदैन। माडीवासीले लामो समयदेखि निकुञ्जभित्रको सडक कालोपत्र गर्नुपर्ने भन्दै सम्बन्धित निकायसँग माग गर्दै आएका थिए।

चितवन क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्यसमेत रहनुभएकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उच्च प्राथमिकता दिएर काम अघि बढाउन समन्वयकारी भूमिका निर्वाह गर्दै आएका छन्। रास्वपाको चितवनमा भएको पहिलो महाधिवेशनमा सहभागी हुन आएका मन्त्रीहरूले स्थलगत निरीक्षण गरेर काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। सोपश्चात् कामले तीव्रता पाएको हो। रासस