काठमाडौं । नेपालका सवारीसाधन आयातकर्ता तथा व्यवसायीहरूको संगठनका रूपमा सन् १९७५ मा स्थापना भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको छ । स्वर्ण जयन्तीको अवसरमा नाडाले ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ।
नाडा अटो शो आगामी भदौ ९ देखि १४ गतेसम्म (अगस्ट २५ देखि ३०) काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुनेछ। करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २ सयभन्दा बढी स्टल रहनेछन्। अटो शोमा २३ वटा चारपाङ्ग्रे यात्रुवाहक सवारीसाधन ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक सवारीसाधन (LCV) ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे ब्रान्डको प्रत्यक्ष सहभागिता रहने नाडाले जनाएको छ।
त्यस्तै, पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरणसँग सम्बन्धित करिब ७० वटा कम्पनीको सहभागिता रहनेछ। बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीतर्फ पनि १० वटा संस्थाको सहभागिता रहने आयोजकले जनाएको छ।
पाँच दशकको अवधिमा नेपालको अटोमोबाइल क्षेत्रले उल्लेखनीय विस्तार गरेको नाडाको भनाइ छ। हालसम्म नेपालमा करिब ५५ लाख सवारीसाधन दर्ता भइसकेका छन्। पछिल्ला पाँच आर्थिक वर्षमा मात्रै करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारीसाधन तथा सम्बन्धित सामग्री आयात भएको र त्यसबाट राज्यले करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको नाडाले जनाएको छ।
त्यस्तै, नेपाल हरित गतिशीलतातर्फ अघि बढ्दै गर्दा हालसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्रिएका छन्। ईभीका लागि देशभर करिब २ हजार चार्जिङ स्टेसन निर्माण भइसकेको नाडाले जनाएको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले स्वर्ण जयन्ती संस्करणको अटो शो एउटा संस्थाको उत्सव मात्र नभई समग्र नेपाली अटोमोबाइल उद्योगको योगदान र यात्रालाई प्रतिबिम्बित गर्ने अवसर भएको बताए। “पचास वर्ष भनेको कुनै उद्योगलाई ‘कति बिक्री गर्यो’ भन्ने आधारमा होइन, ‘कति धानिरहेको छ’ भन्ने आधारमा नाप्न थाल्न पर्याप्त समय हो। भदौ ९ गते हामीले खोल्न लागेको प्रदर्शनी त्यही हो,” अध्यक्ष उप्रेतीले भने।
नाडाले नेपाली अटोमोबाइल क्षेत्रलाई आयात र बिक्रीमा मात्र सीमित नराखी रोजगारी सिर्जना, राजस्व संकलन, हरित प्रविधिको विस्तार तथा समग्र आर्थिक गतिविधिको प्रमुख संवाहकका रूपमा विकास गर्न निरन्तर नेतृत्वदायी भूमिका खेल्दै आएको जनाएको छ।
स्वर्ण जयन्तीको अवसरमा आयोजना हुन लागेको १८औँ नाडा अटो शोले नेपाली अटोमोबाइल क्षेत्रको पाँच दशक लामो यात्रालाई प्रस्तुत गर्नुका साथै आगामी दिनमा नेपालको सडक तथा यातायात प्रणालीलाई थप आधुनिक, सुरक्षित र वातावरणमैत्री बनाउन नयाँ दिशा दिने अपेक्षा गरिएको छ।




प्रतिक्रिया