काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले तत्काल नोटबन्दी गर्नेबारे कुनै योजना नबनाएको स्पष्ट पारेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा सहभागीहरूले नोटबन्दी किन नगर्ने भन्ने प्रश्न गरेपछि अर्थमन्त्री वाग्लेले सरकारको धारणा सार्वजनिक गरेका हुन्।
वाग्लेले वर्तमान अवस्थामा नोटबन्दी उपयुक्त हुने नदेखिएको बताए। उनले नोटबन्दीबारे सरकारले कुनै तयारी वा सोच अघि नबढाएको स्पष्ट पारे। उनले भने, “नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ। तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन। नोटबन्दीबारे हामीले सोचेका छैनौँ।”
अर्थमन्त्री वाग्लेले विगतमा नोटबन्दीको अभ्यास गरेका अन्य मुलुकको अनुभवसमेत उत्साहजनक नरहेको बताए। ती मुलुकमा नोटबन्दीले अपेक्षित सफलता हासिल नगरेको उनको भनाइ थियो। नोटबन्दीलाई लिएर सार्वजनिक रूपमा बहस भइरहेका बेला अर्थमन्त्रीको यस्तो धारणा आएको हो। सरकारले भने हाल नोटबन्दीको विकल्पमा जाने कुनै तयारी नरहेको स्पष्ट पारेको छ।




प्रतिक्रिया