म्यानहटन । अमेरिकाको म्यानहटनस्थित संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न लगाएको रोक खारेज गरेको छ।
दक्षिणी जिल्ला अदालतकी न्यायाधीश जेनेट वर्गासले शुक्रबार उक्त नीति कानुनविपरीत रहेको भन्दै विदेशमन्त्री मार्को रुबियोलाई यस्तो रोक लगाउने वैधानिक अधिकार नभएको ठहर गरेकी हुन्। उनका अनुसार राष्ट्रियताका आधारमा आप्रवासी भिसा रोक्ने नीति अमेरिकी संघीय आप्रवासन कानुनसँग प्रत्यक्ष बाझिएको छ।
जनवरीदेखि लागू भएको उक्त नीतिले ब्राजिल, कोलम्बिया, उरुग्वे, बोस्निया, अल्बानिया, पाकिस्तान, बंगलादेशसहित अफ्रिका, पश्चिम एशिया र क्यारेबियनका धेरै देशका नागरिकलाई प्रभावित पारेको थियो।
अमेरिकी विदेश मन्त्रालयले ती देशका नागरिक अमेरिकामा सरकारी स्रोतमा निर्भर हुन सक्ने जोखिम उच्च रहेको दाबी गर्दै भिसा रोकिएको बताएको थियो। आप्रवासी अधिकार समूहहरूले भने यो नीतिविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए।
ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षा र आप्रवासन नियन्त्रणलाई प्राथमिकता दिँदै विभिन्न देशमाथि यात्रा तथा भिसासम्बन्धी प्रतिबन्ध कडा बनाउँदै आएको छ। अदालतको पछिल्लो फैसलाले प्रशासनको उक्त नीतिमा महत्वपूर्ण कानुनी झट्का लागेको छ। एजेन्सी




प्रतिक्रिया