बाढी पहिरोले यी सडक अवरुद्ध


काठमाडौं, भदौ ७ । बाढी पहिरोका कारण आज पनि देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। सडक अवरुद्ध हुँदा कतिपय स्थानमा यातायात पूर्ण रूपमा रोकिएको छ भने केही सडकखण्डमा एकतर्फी सञ्चालन भइरहेको छ।

भोजपुरको मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा छ भने इलामको मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। यस्तै बीपी राजमार्गमा बाढीका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

मकवानपुरको कान्तिलोकपथमा पनि रातको समयमा सवारी रोकिएको छ। सिन्धुपाल्चोकको अरनिको राजमार्ग, रसुवाको त्रिशूली मेलुङ–स्याफ्रुबेँसी सडक, नुवाकोटको मध्यपहाडी लोकमार्ग र धादिङको दामन पाख्रिन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्।

यस्तै कालीगण्डकी करिडोर, बेनी–जोमसोम र चामे–बेँसीसहर सडकखण्ड एकतर्फी सञ्चालनमा छन्। यस्तै, लुम्बिनी प्रदेशको रोल्पामा घोराही–थवाङ–रुकुम सडक पूर्ण रूपमा अवरुद्ध छ भने पाल्पाको सिद्धार्थ राजमार्ग सञ्चालनमा छ। कर्णाली प्रदेशको रुकुम पश्चिममा जाजरकोट–डोल्पा सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।