बागमतीका मुख्यमन्त्री थापालाई विश्वासको मत जुटाउन सकस, राप्रपाको ह्विपले बढायो चुनौती


काठमाडौ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।

दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। तर सरकार गठन भएको केही दिनमै सत्ता समीकरण जटिल बनेपछि मुख्यमन्त्री थापाका लागि विश्वासको मत लिनु चुनौतीपूर्ण बनेको छ।

१०४ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५३ मत आवश्यक पर्छ। एमालेका २५ सांसद भए पनि सभामुख पद रिक्त रहेकाले बैठकको अध्यक्षता गर्ने उपसभामुखले मतदान नगर्ने अवस्थामा एमालेको प्रभावकारी मत २४ रहनेछ। नेकपाका २६ सांसदले पक्षमा मतदान गरे पनि कुल ५० मत मात्रै पुग्ने देखिन्छ।

मुख्यमन्त्रीका लागि सबैभन्दा ठूलो चुनौती राष्ट्रिय प्रजातन्त्र पार्टी बनेको छ। राप्रपाले आफ्ना प्रदेशसभा सदस्यलाई विश्वासको मतको विपक्षमा मतदान गर्न, तटस्थ रहन वा बैठकमा अनुपस्थित हुन ह्विप जारी गरेको छ। यससँगै राप्रपाको मत मुख्यमन्त्रीको पक्षमा जाने वा नजाने विषय निर्णायक बनेको छ।

यसैबीच, सत्तारूढ नेकपाले भने आफ्ना सांसदलाई मुख्यमन्त्री थापाको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। तर पार्टीभित्र मन्त्री छनोट र शक्ति बाँडफाँटका विषयमा असन्तुष्टि देखिएको बताइएको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि आफ्ना ३६ सांसदलाई मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ। नेमकिपा र हाम्रो नेपाली पार्टी पनि सरकारको पक्षमा मतदान गर्ने अवस्थामा नरहेको बताइएको छ।

राप्रपाका केही सांसदले पार्टीको ह्विप उल्लङ्घन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्न सक्ने सम्भावनाबारे समेत चर्चा भइरहेको छ। यस्तो अवस्थामा आजको मतदानले थापा नेतृत्वको सरकारको तत्कालीन राजनीतिक भविष्य मात्र होइन, बागमती प्रदेशको नयाँ सत्ता समीकरणको स्थायित्वसमेत निर्धारण गर्नेछ।