काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का निवर्तमान अध्यक्ष शेषराज भट्टराईले शैक्षिक परामर्श क्षेत्रलाई विद्यार्थीलाई विदेश पठाउने व्यवसायका रूपमा मात्र बुझ्न नहुने बताएका छन् ।
आइतबार इक्यानले मेरियट होटलमा आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै भट्टराईले नेपालको शैक्षिक गतिशीलता र त्यसको विकासक्रमलाई बुझेर मात्रै इक्यानको संस्थागत महत्व बुझ्न सकिने बताए ।
कुनै समय नेपाली विद्यार्थीका लागि भारत स्वाभाविक र लगभग अपरिहार्य शैक्षिक गन्तव्य रहे पनि अहिले नेपाली विद्यार्थीको शैक्षिक गन्तव्य अस्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, जापान, कोरियालगायत विश्वका प्रमुख मुलुकसम्म विस्तार भएको बताए ।
भट्टराईले शैक्षिक गन्तव्यको विस्तारलाई केवल विदेशमा अध्ययन गर्ने प्रवृत्तिका रूपमा मात्र बुझ्न नहुने बताए । उनका अनुसार नेपाली समाजको आकांक्षामा आएको परिवर्तन, स्थानीय अवसरको सीमाभन्दा बाहिर ज्ञान, सीप, अन्तर्राष्ट्रिय अनुभव, व्यावसायिक अवसर र जीवनका नयाँ सम्भावना खोज्ने सामाजिक चेतनाको विस्तारसमेत हो ।
भट्टराईले नेपालमा अन्तर्राष्ट्रिय शिक्षाको उदय आफैंमा महत्वपूर्ण सामाजिक घटनाका रूपमा विकसित हुँदै गएको बताए ।




प्रतिक्रिया