सरकारलाई कांग्रेस सांसदकाे प्रश्न-‘सालिक ठड्याएर बालिकाकाे जीवन फिर्ता आउँछ ?’


काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले बाराकी बलात्कारपछि हत्या गरिएकी गरिमा चौधरीको सालिक ठड्याएर मात्रै नहुने बताएकी छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठमका बोल्दै सांसद गच्छादारले परिवारसँग सरकारले गरेको सम्झौतामाथि नै प्रश्न उठाइन् । ‘एउटा सालिक ठड्याएर ३ वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’ उनले प्रश्न गरिन् ।

उनले थप्दै भनिन्, ‘सहमति पत्रले तत्काल आन्दोलन रोक्न त सक्ला । राहतले क्षणिक पीडा त कम गर्ला, तर यसले दीर्घकालीन न्यायको अनुभूति र राज्यको विश्वास पुनर्स्थापित गर्न सक्दैन ।’

सडक तात्ने बित्तिकै मन्त्रीहरू आफैँ जुर्मुराउने र स्थानीय प्रशासनलाई निकम्मा बनाउने शैलीले स्थानीय सरकार र स्थानीय प्रशासनमाथिको जनविश्वास निरन्तर घटिरहेको उनले बताइन् ।