लुम्बिनीका मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद् हेरफेर


बुटवल। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ तीन मन्त्री नियुक्त गर्दै मन्त्रीपरिषद् पुनगर्ठन गरेका छन् । एमाले, नेकपा, जसपा र जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बनेका आचार्यले आज नेकपाबाट तीन जना मन्त्री थपेका थिए ।

मन्त्रिपरिषद् पुनगर्ठनसँगै कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी कृष्ण कुसुम थारुलाई दिइएको छ। यसअघि कृषि तथा भूमि व्यवस्था मन्त्री रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालयबाट सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा पठाइएको छ भने स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिपेन्द्रकुमार पुनलाई दिइएको छ।

यसअघि सामाजिक विकास मन्त्री रहेका सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ। रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी यथावत् राखिएको छ।

नेपाली कांग्रेसले सरकार छाडेपछि मुख्यमन्त्री आचार्यले आफैँसँग राखेको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी इन्द्रजित थारुलाई दिइएको छ। मन्त्रिपरिषद् हेरफेरसम्बन्धी प्रदेश प्रमुखको कार्यालयका सचिव राजेश गौतमद्वारा हस्ताक्षरित पत्र लुम्बिनी प्रदेशसभा सचिवालयमा पठाइएको छ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री आचार्यको सिफारिसमा मन्त्रिपरिषद् विस्तार गरी नयाँ मन्त्रीलाई भदौ ९ गते मङ्गलबार दिउँसो ३ बजे शपथ गराउने तयारी गरिएको छ।