कालो चस्मा लगाएरै संसदमा उपस्थित हुने तयारीमा प्रधानमन्त्री बालेन


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) भोलि बुधबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठकमा उपस्थित हुने भएका छन् । सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर हुने बैठकमा प्रधानमन्त्री शाह सहभागी हुन लागृेका हुन् । प्रधानमन्त्री कालो चस्मा लगाएरै संसदमा उपस्थित हुने तयारी गरेका छन् ।

यसअघि सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक र सचेतकमार्फत् सांसदहरूलाई कालो चस्मा लगाएर बैठकमा उपस्थित नहुन आग्रह गरेका थिए । स्वास्थ्यका कारण कालो चस्मा लगाउनुपर्ने अवस्था भए स्वास्थ्य परीक्षणको रिपोर्टसहित त्यसको कारण खुलाउन सभामुखले आग्रह गरेका थिए ।

सभामुखको उक्त आग्रहपछि पनि प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुपर्ने कारण खुलाउँदै संघीय संसद सचिवालयलाई पत्र पठाएका छन् । उनले आँखामा समस्या भएकाले कालो चस्मा लगाउनुपरेको उल्लेख गर्दै स्वास्थ्य परीक्षणको रिपोर्टसमेत सचिवालयमा जानकारी गराएका हुन् ।