काठमाडौँ । बागमती प्रदेश सरकार गठनको प्रक्रिया र मन्त्रालय बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केही प्रदेशसभा सदस्य पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने भएका छन्।
मुख्यमन्त्री किरण थापामगरले आज विश्वासको मत लिने तयारी गरिरहेका छन् । यसैबेला सत्तारुढ दलभित्रै असन्तुष्टि चर्किएपछि समस्या उत्पन्न भएको छ ।
सांसदहरु गंगानारायण श्रेष्ठ, कृष्णप्रसाद खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठलगायत असन्तुष्ट सांसद तथा नेताहरू प्रचण्डसँग छलफल गर्दैछन् ।
उनीहरूले सरकार गठनमा भएको मन्त्रालय बाँडफाँट र पार्टी नेतृत्वको भूमिकाप्रति असन्तुष्टि राख्दै संयोजक प्रचण्डसमक्ष आफ्नो धारणा राख्ने तयारी गरेका हुन् ।
मुख्यमन्त्री थापाले आज अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन्।
असन्तुष्ट सांसदहरू सोमबार विश्वासको मतका लागि तयार नभएपछि बैठक स्थगित गर्नुपर्ने अवस्था आएको थियो ।
अध्यक्ष प्रचण्डले असन्तुष्ट सांसदहरूलाई सम्पर्क गर्दा सांसदहरुले फोन नै नउठाएर सम्पर्कविहिन भएको स्रोतले बतायो ।




प्रतिक्रिया