काठमाडौं, भदौ १० । विश्वप्रसिद्ध नेपाली पर्वतारोही ‘निम्सदाइ’ निर्मल पुर्जाको पार्थिव शरीर बेलायत पुगेको छ। पाकिस्तान प्रशासित कश्मीरको ब्रोड पिकमा गत महिना गएको घातक हिमपहिरोमा परी ज्यान गुमाएका १० पर्वतारोहीमध्ये पुर्जा पनि थिए । पुर्जाको अन्त्येष्टि आज बेलायतको दक्षिणपश्चिमी क्षेत्र ब्लान्डफोर्ड फोरमस्थित मिल्टन एबेमा हुँदैछ। बेलायती पूर्वगोर्खा सैनिकसमेत रहेका पुर्जालाई अन्त्येष्टिका क्रममा गार्ड अफ अनर प्रदान गरिने बताइएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहा मगरका अनुसार पुर्जाको पार्थिव शरीर अगस्ट ९ मै परिवारले बुझेको थियो। सुरक्षाका कारण त्यसयता उनको पार्थिव शरीरलाई गोप्य स्थानमा राखिएको थियो । पुर्जा सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल १८९ दिनमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेपछि अन्तर्राष्ट्रिय रूपमा चर्चित भएका थिए। उनको उक्त आरोहण यात्रामा आधारित ‘१४ पिक्सः नथिङ इज इम्पोसिबल’ नामक वृत्तचित्र नेटफ्लिक्समा समेत सार्वजनिक भएको थियो। उनको कीर्तिमान सन् २०२३ मा तोडिएको थियो।




प्रतिक्रिया