काठमाडौँ, १० भदौ । सम्भावित विपद् तथा आपतकालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचइओसी) सक्रिय बनाएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आपत्कालीन स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनका लागि नेपाल रेडक्रस, लायन्स क्लब, नेपाल स्काउट, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, काठमाडौँस्थित सङ्घीय अस्पताल तथा रक्तसञ्चार केन्द्रसँग आवश्यक समन्वय भइरहेको जानकारी दिइन् ।
उनका अनुसार काठमाडौँका अस्पतालमा उपलब्ध तथा खाली शय्याको विवरण अद्यावधिक गरी आवश्यकताअनुसार बिरामी व्यवस्थापनको तयारी गरिएको छ । साथै, एम्बुलेन्स तथा आवश्यक स्वास्थ्य सामग्री र उपकरणलाई तयारी अवस्थामा राखिएको छ ।
मन्त्री मेहताले आपत्कालीन स्वास्थ्यसम्बन्धी सहयोग, सूचना तथा समन्वय आवश्यक परे मन्त्रालयको हेल्पलाइन एक हजार ११५ मा सम्पर्क गर्न आग्रह गरेकी छिन् ।




प्रतिक्रिया