काठमाडौ । सरकारले रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको आपत्कालीन उद्धार तथा राहत कार्यलाई थप तीव्रता दिने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रसुवा बाढीका कारण उत्पन्न परिस्थितिको समीक्षा गर्दै प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक कदम चाल्ने निर्णय गरेको कानुनमन्त्री सोविता गौतमले जानकारी दिइन्।
बैठकले बाढी प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, राहत तथा स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै आवश्यक समन्वय अघि बढाउने निर्णय गरेको छ। त्यसैगरी, विपद्को अवस्थामा आवश्यक सूचना तथा सञ्चार व्यवस्था प्रभावकारी बनाउने, उद्धार तथा राहतमा आवश्यक जनशक्ति परिचालन गर्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने विषयमा सम्बन्धित मन्त्रालयहरूले काम अघि बढाउने भएका छन्।
बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा आवश्यक नयाँ पूर्वाधार निर्माणका लागि समेत प्रक्रिया अघि बढाउने निर्णय मन्त्रिपरिषद्ले गरेको मन्त्री गौतमले बताइन्। रसुवाबाट सुरु भएको बाढीका कारण तल्लो तटीय क्षेत्रमा समेत ठूलो जोखिम र क्षति देखिएपछि सरकारले उद्धार, राहत र पुनःस्थापनाका कामलाई एकीकृत रूपमा अघि बढाउने तयारी गरेको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार सम्बन्धित मन्त्रालय तथा निकायहरूले तत्काल आवश्यक कार्य प्रारम्भ गर्नेछन्। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यसँगै राहत वितरण र सुरक्षित स्थानान्तरणलाई प्राथमिकताका साथ अघि बढाइने सरकारले जनाएको छ।




प्रतिक्रिया