रसुवा बाढीपहिरोप्रति ऋषि धमलाद्वारा दुःख व्यक्त: उद्धार र राहतमा जुट्न आग्रह


काठमाडौँ । रसुवामा आएको बाढीपहिरोले पुर्‍याएको ठूलो क्षतिप्रति स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले गहिरो दुःख व्यक्त गरेका छन्। प्राकृतिक विपद्का कारण बस्ती तथा भौतिक संरचनामा क्षति पुगी नागरिक प्रभावित भएको खबरपछि उनले तत्काल खोजी, उद्धार र राहत कार्यमा जुट्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।

अध्यक्ष धमलाले कठिन परिस्थितिमा सम्पूर्ण नागरिकहरूलाई धैर्य अपनाउँदै सुरक्षित स्थानमा बस्न र जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न अपिल गरेका छन्। विपद्को यस घडीमा उद्धार कार्यलाई प्रभावकारी बनाउन उनले स्वतन्त्र नागरिक अभियानका सदस्यहरूलाई रसुवा, धादिङ, नुवाकोट, गोरखा र चितवनलगायतका प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा खटिएर सूचना संकलन र सहयोगमा जुट्न निर्देशन दिएका छन्।

“भीषण बाढीले ठूलो क्षति पुर्‍याएको छ। यस्तो दुःखद घडीमा प्रभावित नागरिकको खोजी, उद्धार र सहयोग नै हाम्रो पहिलो प्राथमिकता हो,” अध्यक्ष धमलाले भनेका छन्।