तेहरान, १० भदौ । इरान र ओमानले हर्मुज जलघाँटीमा अस्थायी नौवहन मार्ग सञ्चालन तथा समुद्री माइन सफा गर्ने विषयमा छलफल अघि बढाए पनि इरानले अमेरिका–इरान युद्ध अन्त्य र अमेरिकी नाकाबन्दी हटेपछि मात्र जलमार्ग पूर्ण रूपमा खोल्ने अडान राखेको छ ।
तेहरानमा भएको वार्तामा इरानका विदेशमन्त्री अब्बास अराघची र ओमानका विदेशमन्त्री बद्र अलबुसाइदीले अस्थायी नौवहन मार्ग स्थापना तथा माइन हटाउने संयुक्त परियोजनासहित ‘चरणबद्ध ढाँचा’ बारे छलफल गरेको हो । अलबुसाइदीले अस्थायी मार्गबारे छिट्टै घोषणा हुन सक्ने बताउँदै स्थायी नौवहन, सूचना आदानप्रदान, यातायात व्यवस्थापन र सुरक्षासम्बन्धी विषयमा प्राविधिक वार्ता जारी रहने जानकारी दिए ।
तर इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले हर्मुजबाट कुनै पनि सैन्य जहाजलाई आवागमन गर्न नदिने चेतावनी दिएको छ । उनले अमेरिका युद्ध अन्त्य गरी नाकाबन्दी हटाएपछि मात्र जलघाँटी पुनः खोल्ने विषयमा अघि बढ्न सकिने बताए ।
सामान्य अवस्थामा हर्मुजबाट विश्वको करिब पाँचौँ भाग तेल तथा तरलीकृत प्राकृतिक ग्यास निर्यात हुने गर्छ । लामो समयदेखि जारी क्षेत्रीय युद्धका कारण समुद्री यातायात प्रभावित हुँदा विश्व ऊर्जा बजारमा समेत असर परेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले हर्मुजमा रहेका सबै माइन हटाएको दाबी गरेपनि घारिबाबादीले त्यसलाई अस्वीकार गर्दै अमेरिकी माइनस्वीपर प्रवेश गरे कारबाही गर्ने चेतावनी दिए ।
यसैबीच, अमेरिकाले इरानमाथि थप प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानलाई आर्थिक रूपमा अलग पार्ने अभियान जारी रहने बताएको छ । नयाँ प्रतिबन्धले डिजिटल सम्पत्ति, प्रविधि, सुन, उड्डयन तथा ढुवानी क्षेत्रलाई लक्षित गरेको छ । इरानले पनि अमेरिकी आर्थिक हितलाई लक्षित गरी जवाफ दिने चेतावनी दिएको छ ।
हर्मुजको सम्भावित दीर्घकालीन अवरोधले विश्व व्यापार र ऊर्जा आपूर्तिमा थप असर पार्ने चिन्ता बढिरहेका बेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भने बुधबार केही घटेको छ ।




प्रतिक्रिया