विपद् व्यवस्थापनमा सरकार अझ जिम्मेवार र प्रभावकारी बन्नुपर्छ : शंकर पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विपद् व्यवस्थापनमा सरकार अझ बढी जिम्मेवार र प्रभावकारी रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन्।


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा पोखरेलले बाढी तथा पहिरोका कारण बेपत्ता र मृत्यु भएका व्यक्तिको पहिचान तथा शव खोजीका लागि विशेष कार्यदल गठन गर्नुपर्ने बताएका हुन्।


उनले उद्धार कार्यलाई थप तीव्र, समन्वित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै जनजीवनसँग प्रत्यक्ष सम्बन्धित पूर्वाधार तत्काल मर्मत तथा पुनःस्थापना गर्नुपर्ने बताए। खानेपानी तथा विद्युत् सेवा पनि यथाशीघ्र पुनःस्थापना गरी नियमित रूपमा उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो।


पोखरेलले विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालले सामना गरिरहेको विपद्को विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुपर्ने बताए। साथै, विपद् पूर्वसूचना प्रणाली किन प्रभावकारी रूपमा काम गर्न सकेन भन्ने विषयमा गम्भीर समीक्षा र अनुसन्धान आवश्यक रहेको उनले बताए।


विपद्का सम्बन्धमा विभिन्न देशबीच सूचना आदानप्रदान तथा समन्वय गर्ने प्रभावकारी संयन्त्र विकास गर्नुपर्नेमा जोड दिँदै पोखरेलले सरकारको आवश्यकताअनुसार स्वयंसेवक परिचालनका लागि औपचारिक आह्वान गर्नुपर्ने बताए। आफूहरू स्वयंसेवक परिचालन गर्न तयार रहेको पनि उनले स्पष्ट पारे।