भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन


कैलाली, ११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि हालसम्म कैलालीका ४० जना सम्पर्कविहीन रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिएको छ ।

बाढी प्रभावित क्षेत्रमा काम, व्यवसाय तथा अन्य सिलसिलामा पुगेका कैलालीका ४० जना नागरिकको हालसम्म परिवार तथा आफन्तसँग सम्पर्क हुन नसकेको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ ।

सम्पर्कविहीनहरूका सम्बन्धमा थप विवरण सङ्कलन तथा खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको तिमिल्सेनाले बताए । उनका अनुसार रसुवामा आएको बाढीपछि जिल्लाबाट विभिन्न कामका लागि गएका व्यक्तिहरूको अवस्था बुझ्ने क्रम जारी छ । सम्पर्कविहीन भएका व्यक्तिहरूको यकिन विवरण सङ्कलन गरी खोजी तथा उद्धारमा सहजीकरण भइरहेको प्रहरीले जनाएको छ ।

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आकस्मिक आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको छ । पछिल्लो विवरणअनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको छ भने अझै सयौँ मानिस सम्पर्कविहीन छन् ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीन व्यक्तिहरूको सङ्ख्या तथा अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले बताए । उनका अनुसार प्रहरीले कैलालीका बेपत्ता व्यक्तिका परिवार तथा आफन्तबाट प्राप्त सूचनालाई समेत आधार बनाएर विवरण अद्यावधिक गरिरहेको छ ।