बाढीबाट प्रभावित नागरिकका लागि समाजसेवी राजी राणाले गरिन् १ करोड ९ लाख सहयोग


काठमाडौं । रसुवाको भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि वरिष्ठ समाजसेवी राजी राणाले १ करोड ९ लाख सहयोग गरेकी छन् ।

उनले बाढीबाट प्रभावित नागरिकहरुको लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा उक्त रकम सहयोग गरेकी हुन् ।

साथै शाही युवा शक्ति नेपालमार्फत पनि २५ लाख बराबरको राहत सामाग्री बाढी प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको जानकारी दिइन् ।

विपद्का बेला राज्य र नागरिकमाथि परेको समस्यामा सबै मिलेर साथ दिनुपर्ने भन्दै उनले यस विपतमा आफ्नो तर्फबाट सहयोग गरेको बताइन् । उनले बाढीमा परेर ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभकोसमेत कामना गरिन् ।

शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काको नेतृत्वमा बाढी प्रभावित क्षेत्रमा राहत सामाग्री लगेर वितरण गर्ने तयारी गरिएको छ । अध्यक्ष खड्काले विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन सबै नेपालीलाई आग्रहसमेत गरेका छन् ।