बाढीका कारण हालसम्म ५ सय ३८ जनाको मृत्यु


काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म ५ सय ३८ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

बाढीले बगाएर सबैभन्दा धेरै चितवनमा २ सय २१ जनाको ज्यान गएको छ। यसैगरी नवलपरासी पूर्वमा १ सय ३४, गोरखामा विभिन्न मानव अङ्गसहित ४६, नुवाकोटमा ३७ र धादिङमा ३३ जनाको शव फेला परेको छ। तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको मृत्यु भएको छ। विपद्मा परी ७३ जना घाइते भएका छन्। जसमध्ये रसुवाका ४३, नुवाकोटका २७ र धादिङका ३ जना छन्।

बाढीपछि ९ सय ७७ जना अझै सम्पर्कविहीन छन्। हराउनेमा ठूलो सङ्ख्या विदेशी नागरिकको छ। ५ सय १७ जना विदेशी नागरिक र नेपाल घुम्न आएका विदेशमा बस्ने १ सय २७ जना नेपाली सम्पर्कमा छैनन्। जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) बाट प्राप्त विवरणअनुसार रसुवाका १ सय ६१, मकवानपुरका ६६ र नुवाकोटका १ जना हराइरहेका छन्।

विपद्‌मा खटिएका सुरक्षाकर्मी र कर्मचारीसमेत बेपत्ता छन्। नेपाली सेनाका ४५, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना सम्पर्कविहीन छन्।