धादिङ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट धादिङ जिल्ला पनि प्रभावित भएपछि वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला त्यहाँको अवस्था बुझ्न पुगेका छन्। आफ्नो गृहजिल्लासमेत रहेको धादिङका नागरिकहरुको अवस्था बुझ्न धमला आज पुगेका हुन् ।
बाढीका कारण धादिङको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ। धमलाका अनुसार बाढीले सडकमा लेदो थुपारेपछि काठमाडौंसँगको सडक सम्पर्क प्रभावित भएको छ । धादिङको फुर्केखोला–परेवाटार जोड्ने पुलसमेत बाढीले बगाउँदा धादिङ सदरमुकामतर्फको सहज सम्पर्कमा समेत असर परेको उनले बताए ।
धमलाले पृथ्वी राजमार्ग तत्काल सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साललाई आग्रह गरेका छन्। उनले वैकल्पिक सडक सञ्चालनको व्यवस्था गर्न र मुख्य राजमार्गमा थुप्रिएको लेदो तथा अवरोध तत्काल हटाउन सरकारलाई अनुरोध गरेका हुन् ।
‘काठमाडौंसँग जोड्ने मुख्य सडक नै बन्द छ। बिरामी, खाद्यान्न र अत्यावश्यक सामग्री ओसारपसार गर्नसमेत समस्या भएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन गर्नुपर्छ,’ धमलाले भने।
उनले आज राति १० बजेसम्म पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने गरी काम गर्न मन्त्री लम्साललाई कडा आग्रह गरे । बाढीपछि राजमार्गमा ठूलो क्षति पुगेकाले सडक खुलाउन आवश्यक उपकरण र जनशक्ति तत्काल परिचालन गर्नुपर्ने उनको भनाइ छ।
उनका अनुसार कतिपय परिवारको घर बाढीले बगाएपछि पाखा तथा भित्तामा आश्रय लिएर बस्न बाध्य छन्। घरमा बस्न सक्ने अवस्था नरहेको र कतिपय परिवारसँग तत्काल खानाका लागि समेत समस्या रहेकोे स्थानीयले आफूलाई जानकारी दिएको बताए।
‘धादिङका धेरै नागरिकको अवस्था भयावह छ। घर बग्यो, बस्ने ठाउँ छैन, खानेकुरा छैन। यस्तो अवस्थामा सडक बन्द हुँदा राहत पुर्याउन झनै समस्या भएको छ ’ धमलाले भने।
उनले केन्द्र सरकारबाट धादिङका बाढीपीडितका लागि पर्याप्त राहत नपुगेको गुनासोसमेत स्थानीयबाट आएको बताए।
धमलाका अनुसार स्थानीयले रास्वपाका सांसद आशिका तामाङले समेत आफुउहरुको बारेमा चासो नदिएको गुनासो गरेका छन् ।




प्रतिक्रिया