काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा समाचार सङ्कलनका लागि पत्रकारलाई प्रेस प्रतिनिधि प्रमाणपत्र उपलब्ध गराउन सूचना तथा प्रसारण विभागले सार्वजनिक बिदाका दिनसमेत सेवा प्रवाह गर्ने भएको छ ।
विभागले बाढी प्रभावित क्षेत्रमा समाचार सङ्कलनका लागि इच्छुक नेपाली तथा विदेशी सञ्चारमाध्यमका पत्रकारलाई सहज रूपमा प्रेस प्रतिनिधि प्रमाणपत्र उपलब्ध गराउन सार्वजनिक बिदाका दिनसमेत सेवा प्रवाह गर्ने जनाएको हो ।
विभागका प्रवक्ता गोविन्दप्रसाद पाण्डेका अनुसार प्रेस प्रतिनिधि प्रमाणपत्र तथा पत्रकार परिचयपत्र लिन विभागको वेबसाइटमार्फत अनलाइन आवेदन दिनुपर्नेछ । नेपाली पत्रकारले आवेदनका क्रममा नेपाली नागरिकताको प्रमाणपत्र, सञ्चारमाध्यमले दिएको नियुक्तिपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि संस्थाको सिफारिसपत्रलगायतका विवरण पेस गर्नुपर्नेछ।
त्यस्तै, विदेशी पत्रकारले प्रवेशाज्ञा भएको राहदानीको प्रतिलिपि, नियुक्ति वा सम्झौतापत्र, सम्बन्धित संस्थाको सिफारिसपत्र, सम्बन्धित देशको परराष्ट्र मन्त्रालय वा नेपालस्थित राजदूतावास/कन्सुलर कार्यालयको सिफारिसपत्र र सम्बन्धित संस्थाको परिचयपत्र पेस गर्नुपर्ने विभागले जनाएको छ।
अनलाइन आवेदन स्वीकृत भएपछि प्रेस प्रतिनिधि प्रमाणपत्र तथा पत्रकार परिचयपत्र लिन नियमानुसारको शुल्क अनलाइनबाट तिरी पासपोर्ट साइजका दुईप्रति तस्बिरसहित आवेदक स्वयं विभागमा उपस्थित हुनुपर्नेछ।




प्रतिक्रिया