बाढीपीडितको साथमा ऋषि धमला,धादिङका विभिन्न क्षेत्रमा गरे राहत वितरण


धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले धादिङका विभिन्न बाढी प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गरेका छन्। धमलाले शनिबार प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने दाल, चामललगायत खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन्।

यसअघि शुक्रबार बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न धादिङ पुगेका धमलासँग स्थानीयले आफूहरूले राहत नपाएको गुनासो गरेका थिए। बाढीले घर तथा भौतिक संरचनामा क्षति पुर्‍याएपछि कतिपय परिवारलाई खान र बस्नसमेत समस्या भएको स्थानीयले धमलालाई बताएका थिए।

स्थानीयको समस्या सुनेपछि धमलाले तत्काल राहत सामग्री लिएर पुनः आउने प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धताअनुसार उनले आज प्रभावित क्षेत्रमा पुगेर खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेका हुन्।

राहत वितरणका क्रममा धमलाले विपत्तिमा परेका नागरिकलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउनु सबैको दायित्व भएको बताए। उनले यो विपत्तिमा सबै नेपालीलाई एकजुट भएर उद्वार ,राहत तथा पुनःस्थापनमा लाग्न आह्वानसमेत गरेका छन् ।