प्रधानमन्त्री उद्धार कोषमा १ लाख २० हजार सहयोग गरेको भन्दै पोस्ट गर्ने पक्राउ


रामेछाप । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमा प्रचार गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–२, ठोसे बस्ने ३२ वर्षीय भगवान् कार्कीलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि नेपाल सरकारद्वारा जारी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै कार्कीले ChatGPT को प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार गरेका थिए। उक्त नक्कली स्टेटमेन्टमा आफ्नो QR कोडसमेत राखेर सामाजिक सञ्जालमा पोस्ट गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले बताए ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको उक्त सामग्रीको आधारमा अनुसन्धान अघि बढाउँदै कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ।

प्रहरीले प्राकृतिक विपद्का नाममा आर्थिक सहयोग संकलन गर्दा सम्बन्धित सरकारी निकाय तथा आधिकारिक खाताको विवरण यकिन गरेर मात्र रकम पठाउन सर्वसाधारणलाई आग्रह गरेको छ।