भोटेकोसी बाढीबाट कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित स्थानमा सारियो


काठमाडौं, १५ भदौ । भोटेकोसी नदीमा आएको बाढीका कारण डुबानमा परेको कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाबाट करिब १ करोड ५० लाख रुपैयाँ नगद तथा अनुमानित ५० करोड रुपैयाँ बराबरको सुन सुरक्षित स्थानमा सारिएको छ।

प्रहरीका अनुसार निरन्तर करिब आठ घण्टाको प्रयासपछि बैंक शाखामा रहेको नगद, सुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सार्न सफल भएको हो।

बाढीका कारण बैंकको शाखा जोखिममा परेपछि सुरक्षाकर्मी तथा सम्बन्धित कर्मचारीको समन्वयमा बैंकमा रहेका महत्वपूर्ण सम्पत्ति र कागजात सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। प्रहरीले विपद्को समयमा गरिएको उद्धार तथा सुरक्षा प्रयासबाट ठूलो धनमाल क्षति हुनबाट जोगिएको जनाएको छ।