रसुवा बाढी: टनेलहरूबाट ३ वटा शव बरामद


काठमाडौँ। रसुवामा आएको विनाशकारी बाढीका कारण प्रभावित बनेका जलविद्युत् आयोजनाका सुरुङ (टनेल) हरूमा नेपाली सेनाले आफ्नो खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ। आयोजना स्थलहरूमा थुप्रिएको हिलो, लेदो र पानीका कारण उत्पन्न जटिल परिस्थितिका बाबजुद सेनाको टोलीले प्राविधिक उपकरण र नियन्त्रित विस्फोटको प्रयोग गर्दै उद्धार अघि बढाएको हो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चिलिमे हाइड्रोको टनेलभित्र करिब १०० मिटर प्रवेश गरी खोजी गर्ने क्रममा हिलोमाटोले पुरिएको अवस्थामा दुई वटा शव फेला पारी संकलन गरिएको छ। यसैगरी, अपर त्रिशूली–१ को टनेलभित्र सफाइ र खोजी गर्ने क्रममा थप एक शव संकलन गरिएको छ।

यसैबीच, त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्रको अवरोध हटाउनका लागि रातको समयमा करिब २ बजे ‘कन्ट्रोल ब्लास्ट’ (नियन्त्रित विस्फोट) गरिएको छ। टनेलभित्र जमेको पानी, हिलो र लेदो सफा गर्न दुई वटा एक्स्काभेटरलाई करिब १० मिटर तलसम्म ओरालेर प्वाल (होल) बनाउने कार्य निरन्तर भइरहेको सेनाले जनाएको छ।