कोशी प्रदेशका १५९ जना अझै बेपत्ता


विराटनगर । भोटकोशी नदीमा आएको विनाशकारी बाढीका कारण कोशी प्रदेशका विभिन्न जिल्लाबाट त्यहाँ श्रम र रोजगारीका लागि पुगेका १५९ जना  नागरिकहरू अझै सम्पर्कविहीन छन् ।

आज साँझसम्मको विवरण अनुसार कोशी प्रदेशका १४ जिल्लाका कुल १९३ जना व्यक्तिहरू बाढीबाट प्रभावित बनेका थिए । जसमध्ये १५९ जना अझै पनि बेपत्ता रहेका छन् भने ५ जनाको मात्र जीवितै उद्धार भएको छ । त्यसमध्ये २७ जना सम्पर्कमा आएका छन् भने १ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा कार्यरत मजदुर, सवारी चालक, होटल व्यवसायी र तीर्थयात्रीहरू सम्पर्कविहीन भएपछि उनीहरूका परिवार र आफन्तजन गहिरो चिन्तामा परेका छन् ।

तथ्याङ्क अनुसार सबैभन्दा बढी प्रभावित हुने जिल्लाहरूमा सोलुखुम्बु, ओखलढुंगा, सुनसरी र उदयपुर रहेका छन् । सोलुखुम्बु जिल्लाका ४५ जना व्यक्तिहरू बाढीका कारण प्रभावित भएका छन्, जसमध्ये ४२ जना अझै बेपत्ता छन्।

यस्तै ओखलढुङ्गाका ३८ जनामध्ये २५ जना बेपत्ता छन् भने १० जनासँग मात्र सम्पर्क स्थापित हुन सकेको छ । सुनसरी र उदयपुर जिल्लाबाट कामको खोजीमा त्यहाँ पुगेका २१–२१ जना व्यक्तिहरू बाढीको चपेटामा परेका छन्। सुनसरीका १६ जना अझै बेपत्ता छन् भने उदयपुरका पनि १६ जना नै सम्पर्कविहीन अवस्थामा रहेका छन् । झापा जिल्लाका १४ जना प्रभावित भएकोमा १३ जना बेपत्ता छन् र १ जनाको जीवितै उद्धार गरिएको छ।

मोरङका १७ जना र खोटाङका ११ जना व्यक्तिहरू अझैसम्म फेला पर्न सकेका छैनन् । इलामका १२ जनामध्ये ९ जना बेपत्ता छन् भने १ जनाको मृत शरीर फेला परेको छ र २ जनाको उद्धार गरिएको छ ।

विपद्मा परेका व्यक्तिहरूको प्रकृति हेर्दा अधिकांश मानिसहरू जलविद्युत आयोजनामा कार्यरत प्राविधिक र मजदुरहरू रहेको देखिन्छ । विशेषगरी अप्पर त्रिशुली–१ हाईड्रोपावर, चिनियाँ हाईड्रो प्रोजेक्ट, त्रिशुली–३ बी, र साञ्जेन हाईड्रोपावर जस्ता ठूला आयोजनामा कार्यरत इन्जिनियर, सवारी चालक र भान्सेहरू ठुलो सङ्ख्यामा बेपत्ता भएका छन् ।

मोरङकी ऋचा निरौला दोसाङ हाईड्रोपावरमा इन्जिनियरको रूपमा कार्यरत थिइन् भने झापाका कुल बहादुर कार्की र राज आचार्जलगायतका व्यक्तिहरू पनि हाईड्रोपावरकै विभिन्न जिम्मेवारीमा थिए । यसका साथै केही व्यक्तिहरू मानसरोवर र गोसाईंकुण्डको तीर्थयात्रामा गएका बेला सम्पर्कविहीन भएका हुन् । इलामका ५ महिने बालक योगराज भण्डारीदेखि ७३ वर्षीय वृद्ध नरेन्द्र प्रसाद दाहालसम्म यस विपद्को सूचीमा परेका छन् ।

बाढीको समयमा रसुवाको टिमुरे बजार, धुन्चे, रसुवागढी नाका र लाङटाङ क्षेत्रमा रहेका मानिसहरू बढी प्रभावित भएका हुन् । केही व्यक्तिहरू चीनको तिब्बततर्फ सामान लिन गएका वा पदयात्रामा रहेका बेला सम्पर्कविहीन भएका छन् ।

सोलुखुम्बुका पासाङ काजी तामाङ र दोर्जे तामाङलगायतका पर्यटन व्यवसायी र गाइडहरू तिब्बततर्फको यात्रामा रहँदा सम्पर्कविहीन भएको विवरणमा उल्लेख छ । ताप्लेजुङका पासाङ शेर्पा र डिमा साङ्गे शेर्पा लगायतका व्यक्तिहरू भने पछि सम्पर्कमा आएका छन् ।

हालसम्मको विवरण अनुसार बेपत्ता भएका १५९ जनामध्ये केवल ५ जनाको मात्र उद्धार हुन सकेको छ भने २७ जनासँग विभिन्न माध्यमबाट सम्पर्क स्थापित भएको छ । १ जना उपचाररत छन् र १ जनाको मृत्यु पुष्टि भएको छ ।