भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग


जनकपुरधाम, १६ भदौ । धनुषाको धनौजी गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु २२ लाख १५ हजार ५१५ सहयोग गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु सात लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ । साथै गाउँपालिकाका जनप्रतिनिधि, कार्यरत कर्मचारी तथा शिक्षकहरूको मासिक पारिश्रमिकबाट कट्टा गरी रु १५ लाख १५ हजार ५१५ सहयोग रकम सङ्कलन गर्ने निर्णय गरिएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार साह र प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासद्वारा हस्ताक्षरित विज्ञप्तिमा विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको उल्लेख छ ।

प्राकृतिक विपद् परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गाउँपालिकाले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना समेत प्रकट गरेको छ । विपद्बाट घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित पुनःस्थापना र सहज जनजीवनको कामना गर्दै गाउँपालिकाले भोटेकोशी बाढीले दिएको पीडा कुनै एउटा भूगोल वा समुदायको मात्र नभई सम्पूर्ण राष्ट्रको साझा पीडा भएको उल्लेख गरेको छ ।

प्राकृतिक विपद्का बेला पीडामा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्य, स्थानीय तह, नागरिक समाज, निजी क्षेत्र, सङ्घसंस्था तथा आम नागरिक सबैलाई आफ्नो स्थानबाट सहयोग आग्रह गरेको छ ।