बागलुङ, १७ भदौ । बागलुङमा आर्थिक वर्ष २०८२/८३ मा १५ दशमलव पाँच किलोमिटर पदमार्ग निर्माण भएको छ ।
एकीकृत सेवा कार्यालय सामाजिक विकास तथा शिक्षा शाखा प्रमुख श्यामकुमार थापाका अनुसार पदमार्ग निर्माणका लागि तीन करोड ३५ लाख विनियोजन भएकामा तीन करोड खर्च भएको छ । कार्यालयले पदमार्ग निर्माणमा ९३ प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाएको छ ।
न्यूनतम रु पाँच लाखदेखि रु १० लाखसम्मका लागतमा निर्माण भएका अधिकांश पदमार्ग धार्मिक तथा पर्यटकीयस्थल केन्द्रित छन् । सबै योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको थापाले बताए । “प्रतिकूल भूगोल, मौसमलगायत कारण ३५ लाख बजेटका चार योजना कार्यान्वयन हुन सकेनन्,” थापाले भने, “पर्यटकीय पूर्वाधारको महत्वपूर्ण आधार पदमार्ग निर्माण भएपछि पर्यटक तथा पैदलयात्रुलाई आवतजावतमा सहज भएको छ ।”
ढोरपाटनदेखि बुकी, फागुने र सुर्तिबाङ जोड्ने चक्रिय पदमार्ग भने ढोरपाटन सिकार आरक्षसँग सम्बन्धित कारणले कार्यान्वयन हुन सकेन । १५ लाख बजेटमा पदमार्ग विस्तार थालिए पनि योजना सम्पन्न हुन नसकेको कार्यालयले जनाएको छ । बागलुङ नगरपालिका–१ रामरेखामा ताराखोलाको ढुङ्गा छापेर ‘रेलिङ’सहित एक सय मिटर पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष मनकुमारी शर्माले जानकारी दिए । त्यस्तै, गलकोट नगरपालिका–५ हरिचौर–सिमलबोटमा २२० मिटर पर्यटकीय पदमार्ग निर्माण भएको छ ।
निसीखोला गाउँपालिका–५ को धार्मिक तथा पर्यटकीयस्थल अर्नाकोट पर्यटन पदमार्ग क्रमागत रूपमा निर्माण भइरहेको छ । काठेखोला गाउँपालिका–२ को दारेगौडादेखि धौलागिरि जोड्ने पर्यटकीय पदमार्गलगायत ५७ योजना कार्यान्वयन भएका छन् ।




प्रतिक्रिया