धादिङ । धादिङबाट निर्वाचित रास्वपाका सांसद आशिका तामाङका पछिल्ला सार्वजनिक गतिविधि तथा अभिव्यक्तिप्रति नेपाल तरुण दल धादिङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
तरुण दल धादिङका अध्यक्ष शंकर धमलाले विज्ञप्ति जारी गर्दै सांसद तामाङका पछिल्ला गतिविधि र सार्वजनिक अभिव्यक्तिले विभिन्न समयमा विवाद तथा चर्चा सिर्जना गरेको बताएका छन्।
पछिल्लो समय काठमाडौं तथा ललितपुरका विभिन्न स्थानमा भएका उनका गतिविधिहरू समेत सामाजिक सञ्जालमा चर्चामा आएको धमलाले उल्लेख गरेका छन् ।
विशेषगरी रसुवा बाढीबाट प्रभावित नागरिक पीडामा रहेका बेला प्रभावित क्षेत्रमा पुगेर स्थानीय जनप्रतिनिधिसँग सांसद तामाङले गरेको व्यवहारप्रति तरुण दलले गम्भीर असन्तुष्टि जनाएको हो ।
विपद्को समयमा जनप्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्वयंसेवी संस्थाबीच सहकार्य र समन्वय आवश्यक हुने भन्दै तरुण दलले यस्तो संवेदनशील अवस्थामा अनावश्यक विवाद सिर्जना गर्ने वा कसैलाई अपमानित गर्ने गतिविधि स्वीकार्य नहुने चेतावनी दिएको छ।
धमलाले साँच्चिकै सहयोग गर्ने उद्देश्य भए प्रभावित क्षेत्रमा पुगेर श्रम, राहत, उद्धार तथा पुनःस्थापनामा हातेमालो गर्न सांसद तामाङलाई आग्रह गरेका छन्। सहयोग गर्न नसक्ने अवस्थामा विपद्लाई व्यक्तिगत प्रचार वा ‘स्टन्ट’को विषय नबनाउनसमेत उनले आग्रह गरेका छन्।
‘जनताको दुःखमा राजनीति होइन, मानवीयता, जिम्मेवारी र सहकार्य देखिनुपर्छ,’ उनले भनेका छन् ।
तरुण दलले सबै जनप्रतिनिधि तथा राजनीतिक व्यक्तित्वप्रति सम्मान रहेको उल्लेख गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिबाट जिम्मेवार, संयमित र मर्यादित व्यवहारको अपेक्षा स्वाभाविक भएको जनाएको छ।
केही दिन अघि बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा निस्किएका सांसद आशिका तामाङ र त्यहाँका स्थानीय वडाअध्यक्षबीच गल्छी गाउँपालिकाको कार्यालयमा राहतको विषयलाई लिएर विवाद भएको थियो । सोही विषयलाई लिएर तरुण दलले असन्तुष्टि जनाएको हो ।




प्रतिक्रिया