चितवन । रसुवाको भोटेकोसीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवमध्ये ३३५ वटा शवको व्यवस्थापन गरिएको छ ।
तीमध्ये १२९ वटा लिंग पहिचान नभएको जनाइएको छ । सनाखत हुन नसकेका ती शवलाई भरतपुर महानगरपालिका–१ देवघाट जंगलमा मंगलबार रातिसम्म व्यवस्थापन गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका ३४८ शवमध्ये ३३५ वटाको व्यवस्थापन गरिएको छ ।
१२ वटाको सनाखत भएको छ । एउटाको व्यवस्थापन गर्न बाँकी छ । जिल्लामा शव व्यवस्थापन गर्न कठिन भएपछि डीएनए संकलन गरेर शनिबारदेखि जंगलमा लगेर खाडलमुनि शव राख्न थालिएको हो ।
प्रहरीले शनिबार ९६ शवको व्यवस्थापन गरेको थियो । आइतबार १०३, सोमबार ८१ र मंगलबार ५५ शव व्यवस्थापन गरेको हो । जमिनमुनि व्यवस्थापन गरिएकामध्ये सबैभन्दा बढी लिंग पहिचान नभएका १२९ वटा शव छन् । पुरुष १०७, महिला ७३, बालिका १५ र बालक ११ जना रहेको प्रहरीले जानकारी दिएको छ ।
शवहरूको डीएनए नमूना सुरक्षित राख्दै जंगलमा व्यवस्थापन गरिएको प्रमुख प्रहरी उपरीक्षक पौडेलले बताए । सनाखत भएका शव परीक्षणपछि परिवारले बुझेर लगेका छन् । नदी किनारमा शव फेला पर्ने क्रम जारी छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको छ ।
शव पहिचानका लागि डीएनए नमूना संकलन सुरु
भोटेकोसी नदीमा आएको बाढीपछि फेला परेका शवको पहिचानका लागि चितवनमा डीएनए परीक्षणका लागि आफन्तको नमूना संकलन सुरु गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुर सेवा इकाइ र जनस्वास्थ्य कार्यालयको सहयोगमा भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग संघको परिसरमा मंगलबारदेखि डीएनए नमूना संकलन सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले बिहान ९ देखि साँझ ५ बजेसम्म नमूना संकलन भइरहेको जानकारी दिउ । उनका अनुसार शवसँग पहिलो तहको नाता पर्ने आफन्त अर्थात् बुबा, आमा, छोरा वा छोरीमध्ये कुनै एकजनाको रगतको नमूना डीएनए परीक्षणका लागि संकलन गरिनेछ । उनले डीएनए नमूना दिन आउने व्यक्तिलाई आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात र दुईप्रति पासपोर्ट आकारका फोटो साथमा ल्याउन अनुरोध गरे ।
डीएनए नमूना संकलन र परीक्षणको प्राविधिक प्रक्रियाबारे जानकारी दिँदै नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रहरी निरीक्षक सन्देशकुमार पोखरेलले हराइरहेका व्यक्तिको पहिचानका लागि शवबाट मुख्य रूपमा दाँत र हड्डीका नमूना संकलन गरिएको बताए । ती नमूनाबाट डीएनए प्रोफाइल तयार गरिन्छ र त्यसलाई आफन्तबाट संकलन गरिएको डीएनएसँग म्याचिङ गरी पहिचान गरिन्छ ।
“पहिलो प्राथमिकतामा बुबाआमा वा छोराछोरीको डीएनए नमूना आवश्यक पर्छ,” उनले भने, “यदि, पहिलो तहका आफन्त उपलब्ध नभए दाजुभाइ वा दिदीबहिनीको नमूना प्रयोग गरेर पनि परीक्षण गर्न सकिन्छ।”
नेपालको प्रयोगशालाको क्षमताका साथै वैदेशिक सहयोग समेत परिचालन गरेर कम्तीमा १२ हप्ता अर्थात् तीन महिनाभित्र सबै नमूनाको परीक्षण र डीएनए म्याचिङ सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए । प्रहरीका अनुसार चितवनबाहिर रहेका आफन्तले पनि आफू बसेको जिल्लाको जिल्ला प्रहरी कार्यालयमा पुगेर डीएनए नमूना दिन सक्ने व्यवस्था गरिएको छ ।
विदेशमा रहेका आफन्तका लागि पनि डीएनए नमूना उपलब्ध गराउने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । हराइरहेका व्यक्तिका विदेशमा रहेका पहिलो तहका आफन्तले सम्बन्धित देशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगमार्फत अथवा नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत आफ्नो डीएनए प्रोफाइलको ‘सफ्ट कपी’ पठाई परीक्षण प्रक्रियामा सहभागी हुन सक्नेछन् । रासस




प्रतिक्रिया