प्रधानमन्त्री बालेनलाई कुलमानले भेटेर सुरूङभित्र फसेका नागरिकको उद्धारका लागि दिए यस्ताे सुझाव


काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भेटगरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री निवासमा कुलमानले प्रधानमन्त्री बालेनलाई भेटवार्ता गरेका हुन् ।

भेटमा अध्यक्ष घिसिङले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा देखेका, बुझेका र गर्नुपर्ने विषयमा सुझाव दिएका छन् ।

‘विपद्को अवस्थामा हामीले फिल्डमा भिजिट गरेर धेरै ठाउँमा देखेका, बुझेका र गर्नुपर्ने विषयमा उहाँहरूलाई दिने सुझावका लागि भेटघाट गरेका हौं,’ भेटपछि उनले भने ।

उनले प्रधानमन्त्री बालेनलाई उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले गर्नुपर्ने कामबारे सुझाव दिएको छ ।

भेटमा प्रधानमन्त्री बालेनले जलविद्युत् आयोजनाका सुरूङभित्र फसेका नागरिकको उद्धारबारे जिज्ञासा राखेको पनि अध्यक्ष घिसिङले जानकारी दिए ।
‘‘मुख्य गरेर सुरुङभित्र थुनिएका साथीहरूलाई कसरी उद्धार गर्ने भन्नेबारे उहाँहरूको जिज्ञासा थियो,’ उनले भने,‘त्यससम्बन्धमा हामीले बुझेका र गर्नुपर्ने कुराहरू राखेका छौं ।’

सुरूङभित्र फसेका नागरिकको उद्धारका लागि स्वदेशी प्रविधिकको परिचालनदेखि विदेशी विज्ञ र प्राविधिक ल्याउन पनि सरकार तयार भएको प्रधानमन्त्रीले बताएको उनले जानकारी दिए ।